Logo

Breaking News 1

केपी ओली र एमाले प्रतिगमनका मतियार हुन्ः माधब नेपाल


२३ बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन् ।

सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ५ दलीय गठबन्धन परिवर्तन पक्षधरको भएको बताए ।

‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ । केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तनविरोधी, संविधानविरोधीहरूसँग गठबन्धन गरेका छन् । प्राप्त उपलब्धीको रक्षा गर्ने ,संविधान जोगाउने , समाजवाद र सुशासनको पक्षमा रहेकाहरु, गणतन्त्रका हिमायतीहरु यो गठबन्धनमा छौं’, नेपालले भने ।

मुलुकमा रहेका २ गठबन्धनमध्ये कुन रोज्ने भन्ने निर्णय जनताले वैशाख ३० मा गर्नुपर्ने नेपालले बताए । नेपालको राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्ने क्रम सुरू भएको भन्दै अध्यक्ष नेपालले दम्भ गर्नेहरूलाई जनताले तह लगाउने बताए ।

‘गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसै कसैले सोचेका होलान् तर जनता गफाडीको गफमा भुल्दैनन्’, नेपालले भने ।

गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै नेपालले विपक्षी उम्मेदवारहरूको गतिविधि ठीक नभएको बताए । काठमाडौं महानगरलाई व्यवस्थित सहर र संस्कृतिको संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरुको जित अत्यावश्यक रहेको उनको भनाइ छ ।
नेपालले मुलुकमा दुईवटा गठबन्धन रहेको भन्दै प्रगतिशील लोकतान्त्रिक वामपन्थी गठबन्धनको पक्षमा मतदान गरेर प्राप्त राजनीतिक उपलब्धी जोगाउन सार्वजनिक अपिल समेत गरे ।
‘अहिले दुईवटा गठबन्धन छ । दुईमध्ये एक रोज्नुपर्नेछ । एउटा प्रगतिशील वाम–लोकतान्त्रिक र अर्को दक्षिणपन्थी’, नेपालले भने, ‘दक्षिणपन्थी गठबन्धनको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेका छन् ।’ उनले ओलीले नेतृत्व गरेको गठबन्धनमा प्रतिगामी र राजावादीहरु रहेको भन्दै उनीहरु परिवर्तन र संविधान विरोधी रहेको बताए ।

त्यस्तै आफुहरु रहेको गठबन्धनमा प्राप्त उपलब्धिको रक्षा, संविधान जोगाउने, समाजवाद सुशासन र गणतन्त्रका हिमायती प्रगतिशील गठबन्धनमा रहेकाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर सुशासनको पक्षमा उभिन आग्रह गरे । ‘प्रगतिशील गठबन्धनमा सामेल भएका उम्मेदवारलाई मतदान गर्नुस् । प्रतिगामी कित्तामा मत खसाल्नुभयो भने पछुताउनुपर्ने र सन्तानले दुःख भोग्नुपर्नेछ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले इतिहासका सबै मोडमा काँग्रेस र नेकपा सँगसँगै अगाडि बढेको इतिहास भएको भन्दै दम्भीहरु कमजोर र समाप्त हुँदै गएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर महानगरपालिका बनाउन सकिने भन्दै गठबन्धन देशका लागि आवश्यक भएकाले सोहीअनुसार गठबन्धनप्रति विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने भ्रष्टाचार र कुशासनमा फस्दैनौ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

उनले काठमाडौ महानगरका गठबन्धनका उम्मेदवारहरूले मतदातालाई यसरी प्रस्ट पार्न सके विजयको सुनिश्चित रहेको दावी समेत गरे । उनले कतिपय स्थानमा गठबन्धनमा रहेकाहरुले प्रतिगामी शक्तिसँग साँठगाँठ गरेर उम्मेदवारी दिएको सुनिएको भन्दै त्यस्तालाई कारवाही गरिने बताए । काठमाडौ महानगरमा काँग्रेसबाट मेयर र नेकपा एकीकृत समाजवादीका उपमेयरका प्रत्यासी छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : ०९ बजे