Logo

निर्वाचन विशेष

कुन दलबाट कति निर्विरोध निर्वाचित भए ? दुई पालिका अध्यक्षमा नेकपा (एस) विजयी



काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ । यो मध्ये दुई पालिका अध्यक्ष जित्नेमा नेकपा एकीकृत समाजवादी मात्र रहेको छ ।

०७४ को निर्वाचनमा चार सय १२ जना निर्विरोध भएका थिए । यसपालि पनि यो संख्या बढ्न सक्ने आयोग बताउँछ ।
यसपालि पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन चुनावी मैदानमा छ। गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै छन् । सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध भए ।

नेपाली कांग्रेसले एक सय एक पदमा जितेको छ । नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएको छ ।

यस्तै नेकपा एमाले एक सय २३ पदमा निर्विरोध भएको छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता भएको थियो। वैशाख १६ मा उम्मेदवारी फिर्ता लिने समय थियो ।

यसपालि चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ। निर्विरोध भएका पदमा भने चुनाव हुने छैन ।

यसपालि एक सय ७० दलित सदस्य पदमा उम्मेवारी नै नपरेको आयोगले बताएको छ । ०७४ मा एक सय ७६ दलित सदस्य पदमा उम्मेदवारी परेको थिएन ।

कुन दलले कति जिते?

१ नेकपा एमाले

नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ । १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन् ।

२ नेपाली कांग्रेस

कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ । यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ ।

३ नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन् । पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

४ नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ । एक उपाध्यक्ष निर्विरोध भएको छ । छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन् ।

५ राप्रपा

राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन् ।

६ स्वतन्त्र

स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन् । १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन् । स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

साथै राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएका छन् ।
एमालेबाट फुटेर बनेको नेकपा (एस)ले दुई पालिका प्रमुखमा विजयी हांसिल गरेर सबै दललाई उछिनेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ११ बजे