Logo

निर्वाचन विशेष

रुकुमपूर्वमा चुनावी माहोल बढ्दै



रुकुमकोट । आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । पालिका र वडामा आवश्यक पद भने १६१ छ ।

निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन् । जिल्लामा साना–ठूला गरी नौवटा राजनीतिक दलले चुनावमा भाग लिएका छन् । उम्मेदवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मङ्गोल अगनाइजेशन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले निर्वाचनमा भाग लिएका निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् । निर्वाचन लक्षित जिल्लाका विभिन्न ठाउँमा सुरक्षा निकाय खटिने क्रम जारी छ । जिल्लामा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र छन् ।

जिल्लामा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तीव्र पारेका छन् । चुनावमा भाग लिने ती दलहरूले पालिकादेखि वडास्तरसम्म प्रचार–प्रसार अभियानलाई तीव्र पारेका हुन् । माओवादीले तीनवटै पालिका तथा ३१ वटै वडामा चुनावी प्रचारलाई तीव्र पार्नुका साथै पालिका तथा वडास्तरबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो कार्यक्रममार्फत मत माग्न थालेको छ । यस्तै कांग्रेसले पनि चुनावी अभियान सुरु गरेको छ । चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कार्यालय सचिव लीलाराम बुढाले बताए ।

एमालेले पनि घोषणापत्र सार्वजनिक गरेर चुनावी अभियानलाई तीव्र पारेको छ । यस्तै एकीकृत समाजवादीले पनि भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । राप्रपाले पनि चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रमलाई तीव्र पारेको छ । साथै जिल्लास्थित अन्य दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले पनि चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०७ बजे