Logo

मुख्य समाचार

प्रश्नकर्तामाथि जाइलागे स्थापित, भने-तपाईंको ‘फेस नाइस’ छ, तर थुतुनो ठीक छैन



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार रहेका केशव स्थापित एक कार्यक्रममा प्रश्नकर्तामाथि जाइलागेका छन् ।

राजधानीमा बिहीबार गरिएको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई महिलामाथि हिंसाबारे केही सहभागीले प्रश्न गरेका थिए। अन्तरक्रियाका कार्यक्रमकी प्रस्तोता भावना राउतले मीटू आरोपबारे सोधेकी थिइन्। त्यसपछि स्थापित आक्रोशित हुँदै मञ्चबाट उठेका थिए।

उनले आफूमाथि आरोप लगाउनेहरुले कानुनी उपचार नखोजेकोमा पनि आपत्ति प्रकट गरे। ‘ममाथिको आरोप गलत भएको प्रमाणित गरेरै छाड्छु म। यदि आरोपित गर्दै जाने हो भने कसरी सकिन्छ र ? आरोप लगाउनेहरुले ममाथि कानुनी चुनौती दिए हुने नि ! उनीहरुले कानुनी उपचार किन खोज्दैनन्रु जे पायो त्यही आरोप लगाइदिने ?, उनले भने।’

सवाल जवाफका क्रममा वातावरण गर्मिएपछि उनले प्रश्नकर्तामाथि आक्रोश पोखे। उनले मञ्चबाट उठेर भने, ‘तपाईंको फेस नाइस छ, तर थुतुनो ठीक छैन।’

त्यसअघि राउतले ‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस्, प्रमाणित गर्न नसक्ने भए यो ठाउँमा बस्ने नैतिकता राख्नुहुन्छ र ?, भनेर सोधेकी थिइन्। यति भने पछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’

सहभागी एकजना पुरुषले पनि स्थापितमाथि प्रश्न उठाए। आरोप लागिसकेपछि त्यसलाई कि गलत पुष्टि गर्न होइन भने सार्वजनिक पद नताक्न उनले स्थापितलाई चुनौती दिए। स्थापित माथि यसअघि एक पत्रकार र पूर्व महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : १७ बजे