Logo

Breaking News 1

सत्ता गठबन्धनले ६ वटै महानगरमा उठाएका यी मेयरहरु



काठमाडौं । सत्ता गठबन्धनका दलहरुले देशभरका ६ वटै महानगरमा मेयरका उम्मेदवार चयन गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो । यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।

गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए । यो संगै सत्ता गठबन्धनबीच देखिएको विवाद अब करिब अन्त्य भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४६ बजे