Logo

Breaking News 1

भागवण्डा नमिल्दा आज पनि गठबन्धन बैठक बस्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेको छैन ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ ।

विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको थियो ।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पोखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।

माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेको छ ।

सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।

आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ५६ बजे