Logo

समाचार

५० रूपैयाँ भाडा नदिँदा हत्या !



काठमाडौं । २२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरे र भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने ।

उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराईको बसाई भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ ।

फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्र कहाँ बस्न हिँडे । जाँदै गर्दा राजेन्द्रसँग उनको भेट धनगढी–२ बेहडीको रुवस होटल नजिक भयो ।

२४ वर्षीय राजेन्द्र से १ ह २८६६ नम्बरको अटोका चालक पनि हुन् । अटो रोकेर होटल नजिकैको कटेजमा ५०÷५० रूपैयाँको मदिरा दुवैले खाए ।
त्यसपछि राजेन्द्रको कोठा धनगढी–५ सन्तोषी टोल हुँदै लागे, दुवै जना ।

रातको त्यस्तै साढे आठ बजेको थियो । उनीहरू प्रदेशसभा भवन अगाडि पुगे । जहाँ राजेन्द्रले चलाएको अटोलाई कुलदीप गुप्ताले रोके । उनी जाने चाहिँ जालीगाउँ हो ।

राजेन्द्रले भने, ‘भाडा ५० रूपैयाँ लाग्छ है ।’ कुलदिपले हुन्छ भने। केही सयममै उनीहरू पुगे, नैनादेवी चोक । त्यहाँदेखि अगाडि बढ्दै गर्दा राजेन्द्रले कुलदिपसँग भाडा मागे ।

जवाफमा कुलदिपले हिन्दीमा भने,– ‘मे अटोका भाडा नही दुङ्गा, तुम जो करो ।’ यसपछि उनीहरूबीच विवाद भयो । विवाद गर्दै केराबारी पुगे । जुन धनगढी उपमहानगरपालिका–५ मा पर्छ ।

त्यहाँ पुगेपछि भाडा नदिए ओर्लिन कुलदिपलाई भने । तर, मानेनन् ।

नमानेपछि अटोदेखि झार्न खोज्दा भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदिपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५/६ पटक प्रहार गर्दा सडक छेउ नालीमा ढलेको भूपेन्द्रले प्रहरीसँगको बयानमा भनेका छन् ।

त्यसपछि फेरि नालीमै गएर अनुहार र टाउमा त्यही मुङ्ग्रोले पटकपटक प्रहार गरेको पनि बयानमा उल्लेख छ ।

कुलदिपको हत्या घटना भने २३ फागुनको बिहान मात्र सार्वजनिक भएको हो । सडक छेउ नालीमा शव देखेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा भूपेन्द्र र राजेन्द्र मुछिएको पाएपछि प्रहरीले दुवैलाई २७ फागुनमा सन्तोषी टोलबाट पक्राउ गरेको हो ।

कैलाली प्रहरीले अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कैलालीले सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा पनि दायर गरेको छ ।

अभियोग पत्रमा भूपेन्द्र र राजेन्द्रलाई मुलुकी अपराध संहिता– २०७४ को ज्यानसम्बन्धी कसूरको उपदफा (२) अनुसार न्यायाधिवक्ता राजेन्द्रसिंह भण्डारीले जन्मकैदको मागदावी गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : २१ बजे