Logo

कला/साहित्य

छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता सम्पन्न



काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित ‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८’ भब्य रुपमा सम्पन्न भएको छ । चैत्र १६ गतेबाट सुरु भएको प्रतियोगिता चैत्र २० गते सम्पन्न भएको हो । आयोजकको कार्यतालिका अनुसार चैत्र १९ गते सम्पन्न गर्ने भनिएतापनी धेरै समुहको सहभागिता भएको कारण एक दिन म्याद थपिएको थियो ।

प्रतियोगिताको अन्तिम दिन प्रतियोगिता सँगै चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने समापन कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसिले गरेका थिए ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजकको भुमिकामा रहेका थिए भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका थिए । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहेका थिए ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा अन्तिम चरणको प्रतियोगितामा जम्मा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु. ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको थियो ।

‘टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८’ मा नगरकोट दोहोरी साझको प्रतियोगी जीवन सिग्देल र अस्मिता डल्लाकोटीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । गामबेसी दोहोरी साझको प्रतियोगी शान्ता वलि र अर्जुन खड्काले दोस्रो स्थान हासिल गरेका थिए । क्विन रोधी घरको प्रतियोगीहरु हरिमाया रायमाझी, रश्मि बस्नेत, श्याम राना र शर्मिला रायमाझीले सँगै लुम्बिनी प्रदेशले बराबर नम्बर लिएर दुईवटै समुहले तेस्रो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा भद्रकाली समूह (खेम नेपाली) उत्कृष्ट समूहको रुपमा छनौटमा परेकोले रु ५००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै अनुशासित समूहमा ओखलढुंगा प्रतिष्ठान छनौटमा परि नगद रु. ५००० सहित सम्मानित भएको थियो भने नवदित गायिका दिलमाया बिक र गण्डकी प्रदेशका प्रतियोगी नवदित गायक किशान बिक छनौटमा परि ५०००/५००० नगद पुरस्कार सहित पुरस्कृत भएका थिए ।

उत्कृष्ट गायक, गायिका तर्फ गण्डकी प्रदेशको प्रतियोगी सुमन खड्का र राजधानी दोहोरी साझकी प्रतियोगी पुजा पुनले हात पारेका थिए । उत्कृष्ट गायक, गायिकालाई ७०००/७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । त्यसैगरी प्रतियोगीहरु मध्य सबैभन्दा कान्छी प्रतियोगी गण्डकी प्रदेशकी प्रतियोगी अर्चना चापागाईंलाई पनि हौसला स्वरुप रु ७००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगिता अवधिभर अनुशासित कलाकारको रुपमा रहेको भन्दै रु ५००० नगद पुरस्कार सहित राजु लामिछाने सम्मानित भएका छन् ।

प्रतियोगितामा ६१ समूह बिच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ४ : ५७ बजे