Logo

मुख्य समाचार

सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ



सर्लाही । सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२, फूलपरासीस्थित स्थानबाट अपहरण गरिएको थियो ।

बरहथवा नगरपालिका–५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित ४÷५ जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर सुनीललाई कुटपिट गर्दै अपहरण गरी पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । घटनाबारे सुनीलका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो ।

प्रहरीले कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा सुनीललाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारी सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए । सोही क्रममा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिइएको उनले बताए ।

त्यसैगरी घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट वैदेशिक रोजगारीसम्बन्धी विवाद र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ । अपहरणकारीहरूले फिरौती रकम माग गरेको तथा फिरौती रकम तिर्न जाँदा तीन लाख रुपैयाँ र गरगहना लुटिएको भन्दै गलत सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयाससमेत गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  १० : ०४ बजे