काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शिनबार अपरान्ह स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्रीको आगमनसँगै सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ समेत गरे । सचिव ढकालले जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्रै नभई विकासको संकटसमेत बनेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट कक्ष (भीआईपी लाउन्ज) को मिडिया कक्षमा आयोजित प्रेस ब्रिफिङका क्रममा उनले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालको हिमाली पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको उल्लेख गरे । हिमनदी तथा हिमतालहरू तीव्र रूपमा पग्लिँदै जाँदा हिमपहिरो, बाढी, पहिरोलगायतका विपद्को जोखिम बढ्दै गएको उनले बताए ।
निमित्त सचिव ढकालले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि हिमतालहरूको नियमित निगरानी र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए उल्लेख गरे ।
उनका अनुसार हिमाली क्षेत्रमा हुने विपद्को प्रभाव सीमापारसम्म पुग्न सक्ने भएकाले विपद्का समयमा प्रभावकारी समन्वय आवश्यक छ ।
यसका लागि नेपालले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गरेको उनले जानकारी दिए । उक्त संयन्त्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जित जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य, पूर्वसूचना तथा विपद् व्यवस्थापनमा समन्वय गर्न सकिने नेपालको प्रस्ताव रहेको उनले बताए ।








प्रतिक्रिया