Logo

समाचार

कसका लागि एक्लिँदै छन् देउवा ?



पाँचपटक सम्म प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर सधै सत्ताको केन्द्रमा रहे । कांग्रेसमा दुईपटकसम्म  सभापति निर्वाचित भएका देउवा राष्ट्रिय राजनीतिमा सधै निर्णयाक भूमिकामा रहे । जेन्जी आन्दोलनका क्रममा घाइते भएपछि पार्टी पुनर्गठन तथा रुपान्तरणको मुद्दालाई बेवास्ता गर्दै विदेश पलायन भएका देउवा सात महिनापछि स्वदेश फर्केपछि जे जस्तो भूमिका र भाषामा प्रस्तुत भएका छन्, त्यसले उनीप्रतिको अभिभावकीय दृष्टिकोण नै बदलिएको छ । कांग्रेसलाई एक ढिक्क बनाउन अभिभावकीय भूमिका खेल्नुपर्ने देउवा कुनै गुट वा समूह विशेषको संरक्षक भएर प्रस्तुत भएका छन् । राष्ट्रिय राजनीतिमा उनको भूमिका खुम्चिएको मात्र होइन, कांग्रेसभित्र पनि उनी एक्लो हुँदैछन् । देउवालाई काँध थाप्ने थुप्रै नेताहरु उनलाई छोडेर सानेपा फर्किएका छन् । कांग्रेस वृत्तमा चिन्तासँगै एउटा प्रश्न व्याप्त छ, जीवनको यो उत्तराद्र्धमा देउवा कसका लागि एक्लो हुँदैछन् ?

नेपाली राजनीतिमा शक्ति, सत्ता र गुटको केन्द्र बनेर प्रभाव जमाउन सफल मानिएका शेरबहादुर देउवाको अब अवसान बाहेक अर्को विकल्प देखिदैन । सही समयमा उचित निर्णय लिन नसक्दा र अर्काका लागि बुख्याँचा बन्न उद्यत भएकैले देउवाको अवशान दुखद हुने अनुमान गर्न थालिएको छ । नेपाली राजनीतिमा सर्वाधिक चतुर खेलाडीका रुपमा हेरिएका देउवा यतिबेला आफ्नै राजनीतिक विरासतको सबैभन्दा कठिन मोडमा उभिएका छन् । दशकौँको राजनीतिक यात्रा, पटक–पटकको प्रधानमन्त्री पद र पार्टीभित्रको बलियो पकडले निर्माण गरेको देउवाको शक्ति आज क्रमशः क्षयीकरणको दिशामा उन्मुख छ । यो केवल एउटा नेताको राजनीतिक उतारचढाव होइन, देशकै पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेसभित्र बदलिँदै गएको शक्ति सन्तुलनको सङ्केत पनि हो ।

राजनीतिमा कुनै पनि नेतृत्व सधैँ शक्तिशाली रहँदैन । समय बदलिन्छ, पुस्ता बदलिन्छ, कार्यकर्ताको अपेक्षा बदलिन्छ र नेतृत्वप्रतिको स्वीकार्यता पनि बदलिन्छ । देउवाको वर्तमान अवस्थालाई यही कोणबाट हेर्दा उचित हुनेछ । हिजो उनको निर्णयमा सहमति जनाउनेहरू आज प्रश्न गर्न थालेका छन् । हिजो उनको गुटको शक्ति बनेर उभिनेहरू आज आफ्नै राजनीतिक भविष्य सुरक्षित देखिएरहेका छैनन् । नेतृत्वप्रतिको विश्वासमा देखिएको यो अविश्वासले देउवालाई मात्र होइन, उनको गुटलाई नै असहज अवस्थामा पु¥याएको छ । देउवाको राजनीतिक जीवनमा सत्ता कहिल्यै सामान्य विषय रहेन । लामो समयसम्म सत्ताको केन्द्रमा रहेका उनी राजनीतिक शक्ति र राज्यसत्ताबीचको सम्बन्धलाई नजिकबाट बुझेका नेता हुन् । तर राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा देउवामा सत्ताप्रतिको आशक्ति र मोहले अझै तानेको देखियो । जसले गर्दा विवेकपूर्ण निर्णय ओझेलमा पार्न थाल्यो । अहिले देउवामाथि उठिरहेका प्रश्नको मूल चुरो यही हो ।

जेन्जी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक तरङ्ग, त्यसले स्थापित नेतृत्वप्रति जन्माएको असन्तोष र त्यसपछिको बदलिँदो राजनीतिक वातावरणले देउवाको परम्परागत शक्ति संरचनालाई थप कमजोर बनाइदिएको हो । उपचारका लागि विदेश प्रस्थान र स्वदेश फिर्तापछिको राजनीतिक सक्रियतालाई लिएर काँग्रेसभित्र अनेक प्रश्न उठेका छन् । लामो राजनीतिक अनुभव भएका नेताबाट अपेक्षा गरिने संयम, सम्वाद र परिस्थिति बुझ्ने क्षमताभन्दा शक्ति प्रदर्शन र आफ्नो पकड पुनःस्थापित गर्ने आग्रह हाबी भएको हो कि भन्ने ढंगबाट बुझ्नुपर्ने परिस्थिति निर्माण भयो वा गरियो । कुनै पनि नेताको विदेश यात्रा वा स्वास्थ्य उपचार आफैँमा राजनीतिक प्रश्न होइन । तर नेतृत्वको अनुपस्थिति, कार्यवाहक जिम्मेवारी, पार्टी सञ्चालनको निरन्तरता र स्वदेश फर्किएपछिको व्यवहारबीच तालमेल देखिएन भने त्यसले स्वाभाविक रूपमा राजनीतिक सन्देश दिन्छ । देउवाको पछिल्लो गतिविधिलाई लिएर काँग्रेसभित्र देखिएको असन्तुष्टि पनि यही सन्दर्भमा बुझ्न सकिन्छ । जसले गर्दा निकट नेता कार्यकर्ता नै विस्तारै टाढिने अवस्था बन्न थालेको हो ।

राजनीतिक नेतृत्वको शक्ति केवल पदमा हुँदैन, विश्वासमा हुन्छ । सभापतिको कुर्सीमा बस्दैमा नेतृत्व बलियो हुँदैन, बरु कार्यकर्ताको भरोसा, सहकर्मीको साथ र निर्णयप्रतिको स्वीकार्यता हो । देउवाको वर्तमान समस्या भनेको यही आधार कमजोर हुँदै जानु हो । किनभने जेन्जी आन्दोलनपछि उनले कार्यबाहकको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिएका थिए । तर सिंगापुर रहँदैदेखि उनमा विस्तारै शक्ति आर्जनको लोभले वशीभूत तुल्याएको देखियो । त्यसैले नेपाल फर्किएपछि उनले चुनदेवीको भाडाको घरमा आफू बस्ने कोठामा सभापति शेरबहादुर देउवाको नेमप्लेट लेखाए । काँग्रेसभित्रको असन्तोषलाई अझ गहिरो बनाउने अर्को विषय हो—विचार र राजनीतिक पहिचानको प्रश्न । नेपाली काँग्रेसको इतिहास लोकतन्त्र, बहुलवाद, धर्मनिरपेक्षता, समावेशिता र संवैधानिक शासनका मूल्यसँग जोडिएको छ । पार्टीको राजनीतिक पहिचान कुनै एक नेताको व्यक्तिगत रुचि वा तत्कालीन रणनीतिबाट निर्माण भएको होइन । यो लामो संघर्ष, त्याग र विचारको परिणाम हो । यस्तो पार्टीको नेतृत्वले कुनै धार्मिक वा सांस्कृतिक मुद्दालाई राजनीतिक अभिव्यक्तिका रूपमा अघि सार्दा त्यसको प्रभाव व्यक्तिगत सीमाभन्दा बाहिर जान्छ । देउवाले पछिल्लो समय आफू हिन्दू भएको विषयलाई राजनीतिक अभिव्यक्तिमा जोड दिएको चर्चा र त्यसप्रति काँग्रेसभित्र देखिएको प्रतिक्रियाले पार्टीको वैचारिक दिशाबारे बहस जन्माएको छ । व्यक्तिगत आस्था र राजनीतिक दलको संस्थागत विचार फरक विषय हुन् । तर नेतृत्वले व्यक्तिगत आस्थालाई दलको राजनीतिक सन्देशसँग कसरी जोड्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।

देउवाको अभिव्यक्तिलाई कसैले बदलिँदो राजनीतिक परिस्थितिसँग अनुकूलन गर्ने प्रयासका रूपमा बुझेका छन् भने कसैले यसलाई काँग्रेसको स्थापित वैचारिक धरातलबाट विचलनका रूपमा लिएका छन् । यसको वास्तविक राजनीतिक अर्थबारे मतभिन्नता हुन सक्छ । देउवाको राजनीतिक शक्ति क्षयीकरणको अर्को आयाम हो—सारथिहरूको बदलिँदो मनोविज्ञान । हिजोसम्म आफ्ना अभिव्यक्ति सामूहिक निर्णयका रूपमा स्वीकार गर्ने नेताहरू आज आफ्नै राजनीतिक अस्तित्व, कार्यकर्तासँगको सम्बन्ध र आगामी नेतृत्वको सम्भावनाबारे सोच्न बाध्य भएका छन् । यो परिवर्तनलाई केवल अवसरवाद वा गुट परिवर्तनको आरोपका रुपमा मात्र बुझ्नु हँुदैन । आगामी महाधिवेशनमा देउवा सभापति लड्न नमिल्ने अवस्थाले पनि नेता कार्यकर्ता विकल्प खोज्न वाध्य भएका हुन् । राजनीतिमा अस्वाभाविक होइन । एकपछि अर्का नेताले साथ छाड्न थालेपछि देउवा अझै निरिह बन्ने परिस्थिति बनेको देखिन्छ । एउटा चर्चित भनाइ नै छ नि जाहाजमा पानी पस्यो भने सबैभन्दा पहिला मुसाले पनि साथ छाड्छ ।

पूर्णबहादुर खड्काजस्ता वरिष्ठ नेताहरूको भूमिकालाई लिएर काँग्रेसभित्र उठिरहेको बहसले पनि यही सङ्केत गरेको छ । देउवाका सबैभन्दा भरोशायोग्य पात्र खड्का आज धर्मराएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका नेतासँगको सम्बन्धमा देउवो पछिल्ला दिन इमान्दार देखिएनन् । साथै, उत्तराधिकारीका रुपमा डा. शशांक कोइरालालाई अघि सार्ने परिघटनाले अझै संसय बढाएको छ । त्यसैको परिणामस्वरुप खड्का संस्थापन पक्षसँग नजिएको चर्चा हुने गरेको छ । यसले पनि देउवा गुटभित्रको आन्तरिक संरचनालाई कमजोर बनाएको देखियो । हिजोको जस्तो एकल निर्णय र सीमित घेराको प्रभावमा गुट सञ्चालन गर्न अब देउवाका लागि सहज छैन भन्ने सन्देश पनि खड्काले दिएका हुन् ।

राजनीतिक गुटको शक्ति सङ्ख्यामा मात्र मापन गरिनु हुँदैन । गुटको शक्ति भनेको विचारमा एकरूपता, निर्णयमा सामूहिकता र संकटमा एकअर्काप्रतिको भरोसा पनि हो । जब यी तीन आधार कमजोर हुन्छन्, गुट बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै विघटनको प्रक्रियामा प्रवेश गरिसकेको हुन्छ । देउवा पक्षमाथि उठिरहेका प्रश्नलाई यही कोणबाट हेर्नुपर्ने हुन्छ । आगामी महाधिवेशनको पूर्वसन्ध्यामा काँग्रेसभित्रको शक्ति सन्तुलन नयाँ ढङ्गले निर्माण हुँदैछ । तल्लो तहदेखि सुरु हुने अधिवेशनले केवल नयाँ प्रतिनिधि चयन गर्ने छैन, त्यसले पार्टीभित्रको भावी नेतृत्वको आधार पनि तय गर्नेछ । वडा, पालिका, प्रदेश र केन्द्रसम्म फैलिएको संगठनात्मक प्रक्रियामा कार्यकर्ताको मनोविज्ञान निर्णायक बन्नेछ । नेतृत्वप्रतिको असन्तोष, पुस्तान्तरणको चाहना र नयाँ राजनीतिक सन्देशको खोजीले अधिवेशनको परिणामलाई प्रभावित गर्न सक्छ । देउवा निकट भनिएका नेताहरू संस्थापनले आह्वान गरेको मितिमा वडा अधिवेशन गराउन गाउँ–गाउँ फर्किएका छन् ।

यही परिवेशमा देउवाको राजनीतिक एकांकीपनको प्रश्न उठेको हो । यो एकांकीपन केवल नेताहरूले साथ छाड्नुमा सीमित छैन । निर्णय प्रक्रियामा विश्वासको कमी, संगठनभित्र घट्दो प्रभाव, वैचारिक अस्पष्टता र आगामी नेतृत्वको बहसमा कमजोर हुँदै गएको पकडको सम्मिलित परिणाम हो अहिलेको अवस्था । देउवाको राजनीतिक जीवनमा लामो समयसम्म बलिया सारथिको भूमिकामा रहेका सहकर्मीहरू नै आज वैकल्पिक बाटो खोजिरहेका छन् । तर देउवा असान्दर्भिक नै भइसके भन्ने निश्कर्ष निकाल्नु पनि अलि हतारो हुनसक्छ । किनभने नेपाली काँग्रेसको राजनीति सरल रेखामा चल्दैन । यहाँ गुटहरू फुट्छन्, फेरि जोडिन्छन् । असन्तुष्टहरू पुनः सहमतिमा आउँछन् । शक्ति समीकरण एकै रातमा बदलिन सक्छ । देउवाको अनुभव, संगठनभित्रको पुरानो सम्बन्ध र राजनीतिक सम्पर्कलाई पनि नजरअन्दाज गर्न सकिँदैन । प्रश्न यति मात्र हो—के उनले बदलिएको परिस्थितिलाई आत्मसात् गर्न सक्छन् ?

देउवाको वर्तमान सङ्कटले काँग्रेसलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ, त्यो के भन्दा कुनै पनि दलको शक्ति एक व्यक्तिको वरिपरि स्थायी रूपमा केन्द्रित रहन सक्दैन । नेतृत्वको सम्मान कायम राख्न संस्थागत प्रक्रिया, सामूहिक निर्णय र वैचारिक स्पष्टता आवश्यक हुन्छ । पार्टीभित्र असहमति हुनु लोकतान्त्रिक दलको कमजोरी होइन, असहमतिको व्यवस्थापन गर्न नसक्नु चाहिं कमजोरी हो । देउवाले अब आफ्नो राजनीतिक विरासतलाई केवल विगतका उपलब्धिले होइन, वर्तमान संकटको व्यवस्थापनबाट प्रमाणित गर्नुपर्नेछ । आज काँग्रेस कार्यकर्ताको मनमा एउटै प्रश्न गुञ्जिरहेको छ देउवा आफ्नै राजनीतिक इतिहासको घेराबन्दी तोडेर नयाँ युगको काँग्रेस निर्माणतर्फ अघि बढ्लान वा पुरानै मानसिकतामा अडिएर क्रमशः एक्लिँदै जानेछन् ? यसको काँग्रेसको संगठन, कार्यकर्ता र आगामी महाधिवेशनले दिनेछ । गगनले भने जस्तै उनले आगामी १५ आंै महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व गरे भने उनको साख फेरि नचुलिएला भन्न सकिन्न । समयले नेतृत्वलाई सधैँ एउटै अवसर दिँदैन, देउवाले गर्ने निर्णय नै अब महत्वपूर्ण हो । उनी कसैको शिखण्डी बन्नुपर्ने अवस्था पक्कै छैन ।  

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ४८ बजे