Logo

अर्थ

आईपीओ निष्कासनको योग्यतामा सेबोनले कडाइ गर्ने


२ आश्विन २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि कम्पनी तथा संस्थाले पूरा गर्नुपर्ने सामान्य योग्यता तोक्ने गरी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ।

सेबोनले ‘प्रारम्भिक सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै आईपीओ निष्कासनअघि संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, सूचना प्रवाह र नियामकीय अनुपालनलगायत पक्ष परीक्षण गर्ने व्यवस्था प्रस्ताव गरेको हो।

मस्यौदाअनुसार आईपीओ निष्कासन गर्ने संस्था कानुनी रूपमा दर्ता भएको, लेखापरीक्षण सम्पन्न गरेको र वार्षिक साधारणसभा गरिसकेको हुनुपर्नेछ। संस्थाले वित्तीय, संस्थागत सुशासन तथा सूचना प्रवाहसम्बन्धी निर्धारित मापदण्डसमेत पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

सेबोनले आईपीओ निष्कासनका लागि ११ वटा आधारभूत योग्यता तथा सर्त प्रस्ताव गरेको छ। विशेष प्रकृतिका उद्योग, पूर्वाधार तथा अन्य क्षेत्रका लागि भने आवश्यकताअनुसार छुट्टै मापदण्ड लागू गर्न सकिने मस्यौदामा उल्लेख छ।

मस्यौदाले आईपीओ निष्कासन गर्ने संस्थाको जोखिममा आधारित नियामकीय परीक्षणलाई समेत समेटेको छ। यसअन्तर्गत व्यवसायको प्रकृति, वित्तीय अवस्था, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, नियामकीय अनुपालनको इतिहास, उद्योगगत जोखिम तथा सार्वजनिक लगानीकर्तामा पर्न सक्ने सम्भावित प्रभावलाई आधार बनाएर परीक्षण गरिने प्रस्ताव छ।

वित्तीय योग्यताअन्तर्गत संस्थाले समयमै लेखापरीक्षण सम्पन्न गरेको हुनुपर्ने र नेटवर्थ अंकित मूल्यभन्दा कम हुन नहुने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यसैगरी संस्थागत सुशासनतर्फ संस्थापक सेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता, संस्थाको व्यावसायिक तयारी र सञ्चालन योजनालगायत विषयलाई मापदण्डका रूपमा राखिएको छ।

आईपीओ निष्कासनपछि संकलित रकमको उपयोगमा समेत सेबोनले निगरानी गर्न सक्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।

सेबोनले मस्यौदामाथि सरोकारवालाबाट सात दिनभित्र सुझाव दिन आग्रह गरेको छ।

आईपीओ निष्कासनसम्बन्धी सामान्य योग्यता निर्धारण गर्ने योजना अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भदौ २९ गते सार्वजनिक गरेको पुँजीबजार सुधार कार्ययोजनामा समेत समेटिएको थियो।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : २८ बजे