Logo

समाचार

प्रकृतिको यात्रामा मानिसको खोजी (नियात्रा)



उठ्दैनन् किन सूर्य चन्द्र कहिले हामी उज्याला भनी
गर्दैनन् तरुले घमण्ड फलको छाया दिँदा त्यो पनि।
पुग्छन् सागरमा सधैँ नदनदी बोल्दै नबोली कतै
मान्छे मात्र रहेछ मूर्ख झगडा गर्ने यहाँ सर्वतै।।
कवि छबि बैरागी घिमिरेको यो श्लोक पढ्दा मन एकाएक यात्रामा निस्कन्छ। बाहिरको यात्रामा होइन मात्र नभै भित्रको यात्रामा पनि। सूर्यतिर। चन्द्रतिर। नदीतिर। वनतिर। अनि अन्ततः मानिसतिर। प्रकृतिको विशाल विद्यालयमा मानिस एउटा विद्यार्थी हो। तर विचित्र के छ भने, सबैभन्दा धेरै पढेको मानिसले नै प्रकृतिबाट सबैभन्दा कम सिकेको छ। सूर्य हरेक दिन उदाउँछ। चन्द्र हरेक रात चम्कन्छ। नदी निरन्तर बग्छ। वृक्ष चुपचाप फल्छ। तर मानिसरु मानिसले दिएकोमा पनि घमण्ड गर्छ। नदिएकोमा पनि गुनासो गर्छ। पाएकोमा पनि सन्तुष्ट हुँदैन। नपाएकोमा पनि शान्त हुँदैन।
एक बिहान म यात्रामा निस्किएँ। गन्तव्य निश्चित थिएन। मनमा एउटा प्रश्न मात्र थियो—प्रकृति यति शान्त छ, मानिस किन यति अशान्त छरु सडक लामो थियो। आकाश खुला थियो। बिहानको सूर्य पूर्वी क्षितिजबाट बिस्तारै उठ्दै थियो। उसले कसैलाई आफ्नो उज्यालोको हिसाब मागेन। कसैलाई भनेन हेर, म तिमीहरूलाई प्रकाश दिँदैछु। ऊ चुपचाप उदायो। चुपचाप फैलियो। चुपचाप संसार उज्यालो बनायो। त्यहीँ मैले सोचें,साँचो महानता घोषणा गर्दैन। साँचो प्रकाशले आफ्नो नाम लेख्दैन।
सूर्यसँग मानिसको ठूलो भिन्नता यही हो। मानिसले एउटा सानो काम गरेर संसारलाई सुनाउन चाहन्छ। एउटा दान गरेर तस्बिर खिच्न चाहन्छ। एउटा उपलब्धि पाएर घमण्डको घर बनाउन चाहन्छ। सूर्यले भने अनन्त कालदेखि उज्यालो दिइरहेको छ। तर उसले कहिल्यै आफ्नो प्रशंसाको माग गरेको छैन। शायद सेवाको सबैभन्दा सुन्दर रूप त्यही हो, जहाँ दिने हातलाई आफ्नो दानको सम्झना पनि हुँदैन। जहाँ कर्म हुन्छ। तर अहंकार हुँदैन। जहाँ प्रकाश हुन्छ। तर प्रदर्शन हुँदैन।
यात्रा अघि बढ्यो। बाटोको एउटा मोडमा चन्द्रमा अझै आकाशमा झुण्डिरहेको थियो। सूर्य आउँदै थियो। चन्द्रमा जाँदै थियो। दुवैबीच कुनै झगडा थिएन। कुनै प्रतिस्पर्धा थिएन। सूर्यले चन्द्रलाई हटाउन खोजेको थिएन। चन्द्रले सूर्यको बाटो रोक्न खोजेको थिएन। समयको आफ्नै नियम थियो। दिनको आफ्नै पालो। रातको आफ्नै पालो। मैले आकाशतिर हेरेँ। अनि मनमनै भनेँ—मानिसले प्रकृतिबाट यति मात्र सिके पनि संसार कति सुन्दर हुन्थ्यो१ सबैलाई आफ्नो समय आउँछ। सबैलाई आफ्नो स्थान चाहिन्छ। अरूको उज्यालो देखेर आफ्नो दीप निभाउनुपर्दैन।
मानिस किन यति धेरै तुलना गर्छरु त्यो प्रश्नले यात्राभर पछ्याइरह्यो। फलानो मभन्दा अगाडि गयो। फलानो मभन्दा धनी भयो। फलानो मभन्दा चर्चित भयो। फलानोको घर ठूलो भयो। फलानोको जीवन राम्रो भयो। तुलना एउटा यस्तो आगो हो, जसले अरूको उज्यालोभन्दा पहिले आफ्नै मन जलाउँछ। सूर्य सूर्य हो। चन्द्र चन्द्र हो। दुवैको काम फरक छ। तर दुवै आवश्यक छन्। मानिसले पनि आफ्नो स्वभाव पहिचान गर्नुपर्छ। आफू अरूजस्तो हुन खोज्दा मानिस आफ्नै अस्तित्वबाट टाढा जान्छ।
अगाडि एउटा वन आयो। हरिया रूखहरू बाटोको दुवैतिर उभिएका थिए। केही अग्ला। केही होचा। केही बूढा। केही नयाँ। तर सबैको आकाश एउटै थियो। हावा एउटै थियो। माटो एउटै थियो। एउटा वृक्षमा फल लागेको थियो। अर्कोले यात्रुलाई छाया दिइरहेको थियो। अर्कोमा चराहरूले गुँड बनाएका थिए। तर कुनै रूखले आफ्नो उपयोगिताको घोषणा गरेको थिएन। रूखहरू मौन थिए। तर उनीहरूको मौनता उदार थियो।
रूखले कहिल्यै भन्दैन—हेर, मैले तिमीलाई छाया दिएँ। हेर, मैले तिमीलाई फल दिएँ। हेर, मैले तिमीलाई अक्सिजन दिएँ। ऊ केवल दिन्छ। पात दिन्छ। फूल दिन्छ। फल दिन्छ। छाया दिन्छ। अन्ततः आफ्नो काठ पनि दिन्छ। यस्तो निःस्वार्थ प्राणीको अगाडि मानिसको स्वार्थ कति सानो देखिन्छ१ मानिसले एउटा सानो सहयोग गरेर जीवनभर ऋण सम्झाउन खोज्छ। रूखले जीवनभर दिएर पनि केही माग्दैन। शायद प्रेमको सर्वोच्च रूप अधिकार होइन। समर्पण हो।
म एउटा ठूलो पीपलको रूखमुनि केही बेर बसेँ। हावाले पातहरू हल्लाइरहेको थियो। सूर्यका किरणहरू पातको बीचबाट छिरेर जमिनमा नाचिरहेका थिए। त्यो दृश्य कति मधुर थियो१ मैले आँखा बन्द गरेँ। लाग्यो, जीवन पनि यस्तै हुनुपर्छ। जरा माटोसँग जोडिएको। शाखा आकाशतिर फैलिएको। फल अरूका लागि। छाया यात्रुका लागि। र अस्तित्व आफ्नो स्थानमा विनम्र। मानिसले जति माथि पुग्छ, उति झुक्न सिक्नुपर्छ। फल लागेको हाँगा झुक्छ। खाली हाँगा मात्र सिधा उभिएर घमण्ड गर्छ।
यात्रा फेरि नदीतिर मोडियो। नदी टाढैबाट सुनिन्थी। उसको आवाजमा संगीत थियो। तर शब्द थिएनन्। ऊ बोल्दिनथी। तर धेरै कुरा भन्थी। नदी पहाडबाट जन्मिन्छे। ढुङ्गामा ठोक्किन्छे। भीरबाट झर्छे। साँघुरो बाटो पार गर्छे। अनेकौँ अवरोध सहन्छे। तर बग्न छोड्दिन। अन्ततः सागरमा पुग्छे। न नदीले आफ्नो यात्राको कथा सुनाउँछे। न सागरले आफ्नो विशालताको घमण्ड गर्छ। दुवै मौन छन्।
नदीलाई हेर्दा जीवन बुझ्न सजिलो लाग्यो। मानिसले अवरोधलाई अन्त्य ठान्छ। नदीले अवरोधलाई मोड ठान्छे। ढुङ्गा आयो भने ऊ रोकिन्न। बाटो बदल्छे। पहाड आयो भने काट्छे। भीर आयो भने झर्छे। तर आफ्नो यात्रालाई छोड्दिन। जीवनमा पनि यही नियम छ। बाटो बन्द भए यात्रा बन्द हुँदैन। दिशा बदल्नुपर्छ। कहिलेकाहीँ ढिलो हिँड्नुपर्छ। कहिलेकाहीँ मौन हुनुपर्छ। तर बग्न छोड्नु हुँदैन।
नदी किन यति शान्त भएर सागरमा पुग्छेरु मैले आफैँलाई सोधेँ। शायद उसलाई थाहा छ—गन्तव्यमा पुग्न धेरै बोल्नु पर्दैन। धेरै प्रमाणित गर्नु पर्दैन। यात्रा आफैँ प्रमाण हो। आजको संसारमा मानिस सबैभन्दा धेरै बोल्छ। आफ्नो महानता बोल्छ। आफ्नो धर्म बोल्छ। आफ्नो जात बोल्छ। आफ्नो राजनीति बोल्छ। आफ्नो सत्य बोल्छ। तर बोल्दै बोल्दै सुन्न बिर्सन्छ। नदी बोल्दिन। तर संसारले उसको आवाज सुन्छ।
त्यहीँ मलाई मानिसको झगडा सम्झना आयो। मानिस नामका लागि झगडा गर्छ। धर्मका लागि झगडा गर्छ। जातका लागि झगडा गर्छ। भाषाका लागि झगडा गर्छ। भूमिका लागि झगडा गर्छ। विचारका लागि झगडा गर्छ। अन्ततः उसले बिर्सन्छ—सबै मानिस एउटै पृथ्वीमा हिँडिरहेका छन्। सबैको शरीर माटोमै फर्किन्छ। सबैको सास हावामा मिसिन्छ। सबैको अन्तिम मौनता उस्तै हुन्छ। मृत्युले पनि मानिसलाई बराबर बनाउन सक्छ भने जीवनले किन सक्दैनरु
म यात्राको एकान्तमा अझ गहिरो हुँदै गएँ। मन्दिरको घण्टी टाढाबाट सुनियो। म त्यतातिर लागेँ। मन्दिर ठूलो थिएन। भव्य पनि थिएन। तर त्यहाँ एउटा अद्भुत शान्ति थियो। धूपको सुगन्ध। घण्टीको मधुर ध्वनि। मानिसहरूका झुकेका शिर। कसैले धन मागिरहेको थियो। कसैले स्वास्थ्य। कसैले सफलता। कसैले सन्तान। म केही बेर चुपचाप उभिएँ। अनि अचानक लाग्यो—ईश्वरलाई हामीले धेरै मागेका छौँ। शायद अब केही दिन सिक्नुपर्छ।
ईश्वरलाई सूर्यले के सिकाउँछरु निःस्वार्थ प्रकाश। वृक्षले के सिकाउँछरु निःशब्द दान। नदीले के सिकाउँछरु निरन्तर यात्रा। चन्द्रले के सिकाउँछरु परिवर्तनलाई स्वीकार गर्नु। अनि पृथ्वीलेरु सबैलाई धान्नु। सायद धर्मको सार मन्दिरको ढोकाभित्र मात्र छैन। प्रकृतिको प्रत्येक कणमा छ। मानिसले पूजा धेरै गर्‍यो। तर करुणा कम सिक्यो। मन्त्र धेरै पढ्यो। तर मनको हिंसा कम गर्न सकेन। देवताको नाम धेरै लियो। तर देवत्वको गुण कम अपनायो।
मन्दिरबाट बाहिर निस्कँदा साँझ पर्न थालेको थियो। आकाशको रङ फेरिँदै थियो। सूर्य बिस्तारै अस्ताउँदै थियो। बिहान उसले संसारलाई उज्यालो दिएको थियो। साँझ ऊ केही नभनी बिदा हुँदै थियो। न कुनै विदाइ समारोह। न कुनै प्रशंसाको अपेक्षा। फेरि भोलि आउँछु भनेर घोषणा पनि होइन। कस्तो अद्भुत अनुशासन१ कस्तो सरल जीवन१ काम गर। आफ्नो समय पूरा गर। अनि शान्त भएर बिदा होऊ। मानिसले जीवनभर नाम बचाउन खोज्छ। सूर्यले हरेक दिन अस्ताएर पनि आफ्नो अस्तित्व गुमाउँदैन।
साँझको त्यो यात्रामा मलाई एउटा सत्य महसुस भयो। मानिसले संसार जित्न खोज्छ। तर आफ्नो मन हारिरहेको हुन्छ। मानिस अरूलाई सुधार्न खोज्छ। तर आफ्नै क्रोधलाई चिन्न सक्दैन। मानिस शान्तिको भाषण गर्छ। तर घरभित्र झगडा गर्छ। मानिस ईश्वर खोज्छ। तर मानिसलाई घृणा गर्छ। आध्यात्मिकता भनेको संसार छोडेर जंगल जानु मात्र होइन। आध्यात्मिकता भनेको आफ्नो मनभित्रको हिंसालाई प्रेममा बदल्नु हो। आफ्नो घमण्डलाई विनम्रतामा बदल्नु हो। आफ्नो स्वार्थलाई सेवामा बदल्नु हो।
रात पर्दै थियो। म फर्कने बाटोमा थिएँ। आकाशमा चन्द्रमा देखिन थालेको थियो। बिहान सूर्यलाई देखेको थिएँ। अब चन्द्रलाई देख्दै थिएँ। दुवैको यात्राबीच म थिएँ। एउटा साधारण मानिस। धेरै प्रश्न बोकेको। थोरै उत्तर पाएको। तर मन केही हलुका भएको। यात्राले मलाई संसारको नयाँ दृश्य मात्र देखाएन। उसले मेरो भित्रको पुरानो धुलो पनि देखायो। अहंकारको धुलो। रिसको धुलो। तुलना र प्रतिस्पर्धाको धुलो।
मैले बुझें। सूर्य उज्यालो दिएर घमण्ड गर्दैन। चन्द्र शीतलता दिएर घोषणा गर्दैन। वृक्ष फल दिएर हिसाब राख्दैन। नदी सागरमा पुगेर आफ्नो यात्राको विज्ञापन गर्दैन। प्रकृतिका सबै महान प्राणीहरू मौन छन्। केवल मानिसले आफूलाई सबैभन्दा बुद्धिमान ठानेर सबैभन्दा धेरै झगडा गरिरहेको छ। यही मानिसको विडम्बना हो। यही हाम्रो सबैभन्दा ठूलो आध्यात्मिक प्रश्न पनि हो।
त्यस रात म घर फर्किएँ। तर यात्रा सकिएन। यात्रा मनभित्र चलिरह्यो। अब हरेक बिहान सूर्यलाई हेर्दा म विनम्रता सम्झन्छु। चन्द्रलाई हेर्दा परिवर्तन सम्झन्छु। रूखलाई हेर्दा दान सम्झन्छु। नदीलाई हेर्दा निरन्तरता सम्झन्छु। अनि मानिसलाई हेर्दा करुणाको आवश्यकता सम्झन्छु। शायद संसार बदल्ने ठूलो दर्शन यही हो—थोरै बोलौँ। धेरै सुनौँ। थोरै मागौँ। धेरै बाँडौँ। कम झगडा गरौँ। धेरै प्रेम गरौँ। अनि प्रकृतिजस्तै आफ्नो यात्रामा चुपचाप उज्यालो बनिरहौँ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ४ : २५ बजे