नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस एउटा राजनीतिक दलको नाम मात्र होइन, एउटा दीर्घ राजनीतिक संघर्ष, एउटा लोकतान्त्रिक विश्वास र एउटा ऐतिहासिक चेतनाको प्रतिनिधि नाम हो । राणाशासनविरुद्धको संघर्षदेखि निरंकुश पञ्चायती व्यवस्थाको प्रतिरोध हुँदै बहुदलीय लोकतन्त्रको पुनःस्थापनासम्म कांग्रेसले खेलेको भूमिका नेपाली राजनीतिक इतिहासको अविस्मरणीय अध्याय हो । त्यसैले कांग्रेसको उत्थान–पतन, शक्ति–संकट वा आन्तरिक कलहलाई केवल एउटा दलको निजी मामिला भनेर पन्छाउन मिल्दैन । कांग्रेसको राजनीतिक स्वास्थ्यसँग नेपालको लोकतान्त्रिक चेतनाको एउटा महत्वपूर्ण हिस्सा गाँसिएको छ ।
बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले कांग्रेसलाई केवल संगठनका रूपमा निर्माण गरेका थिएनन्, उनीहरूले संघर्ष, त्याग, विचार र लोकतान्त्रिक संस्कारको एउटा विरासत खडा गरेका थिए । उनीहरूबीच मतभिन्नता थिए, रणनीतिक असहमति थिए, कहिलेकाहीँ तीव्र राजनीतिक टकरावसमेत हुन्थे । तर ती असहमतिको केन्द्रमा लोकतन्त्र, पार्टीको भविष्य र राष्ट्रको हित हुन्थ्यो । व्यक्तिभन्दा विचार ठूलो थियो, पदभन्दा पार्टी ठूलो थियो र पार्टीभन्दा लोकतान्त्रिक आदर्श ठूलो थियो ।
आज त्यही कांग्रेसभित्र देखिएको किचलोले गम्भीर प्रश्न जन्माएको छ, के कांग्रेसले आफ्नो त्यो राजनीतिक संस्कार बिर्सिंदै गएको हो? समयक्रममा कांग्रेसभित्र नेतृत्वको प्रश्नमा संघर्ष हुनु नयाँ कुरा होइन । नेतृत्व परिवर्तन लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया हो । पुरानो पुस्तालाई नयाँ पुस्ताले चुनौती दिनु पनि लोकतन्त्रकै सौन्दर्य हो । तर जब नेतृत्व परिवर्तनको स्वाभाविक प्रक्रियालाई अस्तित्वको युद्ध बनाइन्छ, जब असहमति संवादबाट होइन शक्ति प्रदर्शनबाट व्यक्त हुन्छ र राजनीतिक विवादको समाधान पार्टीको बैठक, छलफल र सहमतिभन्दा बाहिर खोजिन थाल्छ, त्यतिबेला समस्या केवल नेतृत्वको रहँदैन,समस्या पार्टी संस्कारको बन्न पुग्छ ।
यतिबेला कांग्रेसभित्र शेरबहादुर देउवा र गगन थापाको नाममा दुई भिन्न राजनीतिक धारका गतिविधि सतहमा देखिएका छन् । यो स्वाभाविक लोकतान्त्रिक प्रतिस्पर्धा हो भने त्यसलाई स्वागत गर्नुपर्छ । तर यदि यो प्रतिस्पर्धा क्रमशः प्रतिशोध, निषेध र बहिष्करणतर्फ उन्मुख भयो भने कांग्रेसले आफ्नै इतिहासमाथि अन्याय गर्नेछ ।
देउवा पक्षसँग पार्टी विभाजन गर्ने राजनीतिक हिम्मत वा आवश्यकता छैन होला । तर विभिन्न बहानामा विवाद लम्ब्याउने, संस्थागत निर्णयलाई कानुनी विवादमा तान्ने वा अदालतको ढोका गुहारेर राजनीतिक समस्याको समाधान खोज्ने प्रवृत्तिले पनि कांग्रेसलाई निकास दिँदैन । अदालतले कानुनको व्याख्या गर्न सक्छ; राजनीतिक विश्वास पुनर्निर्माण गर्न सक्दैन । न्यायिक प्रक्रियाले विवादको कुनै एउटा पक्षको वैधानिकता परीक्षण गर्न सक्ला, तर दुई पक्षबीचको दूरी घटाउन सक्दैन । त्यसका लागि राजनीतिक संवाद नै आवश्यक हुन्छ ।
राजनीतिक दलको जीवनमा अदालत अन्तिम सहारा बन्नु आफैंमा पार्टीभित्रको संवाद र संस्थागत संयन्त्र कमजोर भएको संकेत हो । कांग्रेसजस्तो लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले आफ्ना राजनीतिक समस्या समाधान गर्न अदालतको ढोका ढकढक्याउनुपर्ने अवस्था आउनु आफैंमा आत्मसमीक्षाको विषय हो । तर आलोचनाको अर्को पाटो पनि उत्तिकै महत्वपूर्ण छ ।
गगन थापा पक्षले नयाँ पुस्ताको आकांक्षा, परिवर्तनको आवश्यकता र नेतृत्व हस्तान्तरणको आवाजलाई प्रतिनिधित्व गरेको छ भने त्यो कांग्रेसका लागि सकारात्मक ऊर्जा हो । पुरानो नेतृत्वमाथि प्रश्न उठ्नु लोकतन्त्रको कमजोरी होइन, लोकतन्त्रको शक्ति हो । तर परिवर्तनको आकांक्षा विजयको उन्मादमा बदलियो भने त्यही ऊर्जा विनाशकारी बन्न सक्छ ।
‘अब पुरानाहरू जाऊन्’ भन्ने भाव यदि पुस्तान्तरणको लोकतान्त्रिक आग्रह हो भने त्यसमा कुनै समस्या छैन । तर त्यही भावना ‘पुराना सबै अप्रासंगिक हुन्’ भन्ने निष्कर्षमा पुग्यो भने समस्या सुरु हुन्छ । कुनै पनि पार्टी इतिहासको शून्यबाट जन्मिँदैन । नयाँ पुस्ताले प्राप्त गरेको राजनीतिक मैदान पुरानो पुस्ताको संघर्षबाटै तयार भएको विरासत हो । त्यसैले नयाँ पुस्ताले पुरानालाई विस्थापित गर्न सक्छ, तर अपमान गर्न सक्दैन । इतिहासलाई सम्मान नगरी भविष्य निर्माण गर्ने दाबी आफैंमा अधुरो हुन्छ ।
कांग्रेसले अहिले यही सूक्ष्म भिन्नता बुझ्न जरुरी छ—पुस्तान्तरण र पुस्ताविरुद्धको राजनीति एउटै कुरा होइन । नयाँ पुस्तालाई ठाउँ दिनु आवश्यक छ । तर पुरानो पुस्ताको अनुभवलाई अपमान गर्नु आवश्यक छैन । नेतृत्व परिवर्तन अपरिहार्य हुन सक्छ, तर नेतृत्वप्रति गरिएको योगदानको सम्मान कहिल्यै पुरानो हुँदैन । कांग्रेसको भविष्य नयाँ पुस्ताले बनाउने हो, तर त्यो भविष्यको जग पुरानो पुस्ताले खनेको हो ।
यसर्थ देउवा पक्षले पनि समयको आवाज सुन्न सक्नुपर्छ । नेतृत्वमा निरन्तरता नै राजनीतिक परिपक्वताको प्रमाण होइन । कहिलेकाहीँ सम्मानजनक हस्तान्तरण पनि नेतृत्वको उच्चतम उपलब्धि हुन्छ । आफूले निर्माण गरेको संस्थालाई आफूपछि थप सशक्त बनाउने क्षमता नै एउटा नेताको अन्तिम राजनीतिक परीक्षा पनि हो ।
त्यसैगरी गगन पक्षले पनि विजयलाई उदारतामा बदल्न सक्नुपर्छ । नेतृत्व पाउनु भनेको आफ्ना आलोचकलाई समाप्त पार्ने अधिकार प्राप्त गर्नु होइन । जितको वास्तविक परीक्षा चुनावको दिन होइन, जितिसकेपछि देखाइने व्यवहारमा हुन्छ । सबै पक्षलाई सम्मानपूर्वक साथ लिएर हिँड्न सक्ने क्षमता नै नयाँ नेतृत्वको वास्तविक उचाइ हो । किनकि कांग्रेसको प्रश्न अहिले ‘को जित्यो?’ भन्ने होइन । मूल प्रश्न कांग्रेस हार्न नदिन दुवै पक्षको संयमता र धैर्य हो । यदि देउवा पक्ष आफ्नो विगतको शक्ति जोगाउने हठमा र गगन पक्ष आफ्नो वर्तमान विजयलाई पूर्ण विजय ठान्ने उन्मादमा अघि बढे भने दुवै पक्षले महत्वपूर्ण उपलव्धि गुमानउने छन्, त्यो के भने काँग्रेसको विरासत । पार्टी कसैको निजी सम्पत्ति होइन । कांग्रेस कुनै व्यक्ति, परिवार वा एउटा पुस्ताको स्थायी राजनीतिक थलो होइन । यो हजारौं कार्यकर्ता, लाखौं समर्थक र दशकौंको लोकतान्त्रिक संघर्षले निर्माण गरेको साझा संस्था हो । त्यसैले कांग्रेसको अहिलेको संकटमा सबैभन्दा ठूलो खतरा विभाजन मात्र होइन, संस्थागत क्षयीकरण पनि हो । पार्टी विभाजन भयो भने त्यसको राजनीतिक उपचार सम्भव होला । नयाँ पार्टी बन्न सक्छ, पुरानो पार्टी पुनर्गठन हुन सक्छ । तर संस्थामाथिको विश्वास भत्कियो भने त्यसलाई पुनःनिर्माण गर्न युग युग लाग्न सक्छ । कांग्रेसभित्रको निरन्तर किचलोले कार्यकर्तामा निराशा, जनतामा वितृष्णा र लोकतान्त्रिक संस्थाप्रति अविश्वास बढायो भने त्यसको असर कांग्रेसको चुनावी परिणामभन्दा धेरै गम्भीर हुनेछ । नेपालमा लोकतन्त्रप्रति असन्तुष्टि बढ्नुको एउटा कारण राजनीतिक दलहरूप्रतिको निराशा पनि हो । जनताले नेताहरूबीचको झगडा हेर्न चाहेका छैनन्, उनीहरू परिणाम चाहन्छन् । उनीहरूलाई सुशासन, जवाफदेहिता, रोजगारी, विकास र राजनीतिक स्थायित्व चाहिएको छ । यस्तो बेला देशकै पुरानो लोकतान्त्रिक शक्तिले आफ्नो अधिकांश ऊर्जा आन्तरिक शक्ति संघर्षमा खर्च गर्नु आफैंमा विडम्बना हो ।
लोकतन्त्रको रक्षा सडकमा भाषण गरेर मात्र हुँदैन । लोकतन्त्र दलभित्र पनि बाँच्नुपर्छ । निर्णय प्रक्रियामा पारदर्शिता, असहमतिप्रति सम्मान, नेतृत्व परिवर्तनको सहज स्वीकारोक्ति, पराजित पक्षको सम्मान र संस्थागत विधिको पालना जस्ता आधारभूत पक्ष लोकतन्त्रका मूल अभ्यास हुन् । कांग्रेसले बाहिर लोकतन्त्रको पाठ पढाउने हो भने पहिले आफ्नै घरभित्र त्यसको अभ्यास देखाउनुपर्छ । कांग्रेसका लागि अहिलेको संकट त्यसैको एउटा अवसर पनि हो । पुरानो र नयाँ पुस्ताबीच पुल निर्माण गर्ने उपयुक्त समय पनि हो । यो अवसर हो, नेतृत्व हस्तान्तरणलाई सम्मानजनक बनाउने । यो अवसर हो, आन्तरिक लोकतन्त्रलाई व्यवहारमै स्थापित गर्ने । र यो अवसर हो, व्यक्तिकेन्द्रित राजनीतिको सट्टा संस्थाकेन्द्रित कांग्रेस निर्माण गर्ने ।
बीपीदेखि गणेशमानसम्मको कांग्रेसले असहमति देख्यो, संघर्ष देख्यो, विभाजन देख्यो, तर लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै गुमाएन । आजका नेताहरूले पनि त्यही इतिहासबाट सिक्नुपर्छ । इतिहासको सम्मान गर्ने सबैभन्दा राम्रो उपाय इतिहास दोहो¥याउनु होइन, त्यसबाट सही पाठ सिक्नु हो ।
नेताहरू आउँछन्, जान्छन् । सभापति फेरिन्छन्, महामन्त्री फेरिन्छन्, पुस्ता फेरिन्छ । तर संस्था रहन्छ । लोकतन्त्र रहनुपर्छ । जनताको विश्वास रहनुपर्छ । आज देउवा पक्षले पनि सोच्नुपर्छ, आफ्नो राजनीतिक विरासत कसरी सुरक्षित गर्ने? गगन पक्षले पनि सोच्नुपर्छ, आफ्नो विजयलाई कसरी ऐतिहासिक जिम्मेवारीमा रूपान्तरण गर्ने? दुवै पक्षले बुझ्नुपर्ने सत्य एउटै छ, त्यो के भने एकले अर्कोलाई समाप्त पारेर कांग्रेस बलियो हुँदैन । एकले अर्कोलाई समेटेर मात्र कांग्रेस बलियो हुन्छ । कांग्रेसभित्रको बृहत् एकता भनेको मतभेदको अन्त्य होइन । बरु मतभेदलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गर्ने क्षमता हो । एकता भनेको एउटै स्वरमा बोल्नु होइन, फरक स्वरहरूलाई एउटै लोकतान्त्रिक उद्देश्यमा बाँध्नु हो ।
आज कांग्रेसका अगाडि एउटा स्पष्ट विकल्प छ,अहंकार कि सहमति, प्रतिशोध कि संवाद, बहिष्कार कि समावेशिता, व्यक्तिकेन्द्रित संघर्ष कि संस्थागत पुनर्निर्माण? त्यसको अन्तिम निर्णय केवल काँग्रेसले मात्र गर्न सक्छ । किनकि अन्ततः कांग्रेसका नेताहरू हार्न सक्छन्, जित्न सक्छन्, पदमा आउन सक्छन्, पदबाट जान सक्छन् । तर कांग्रेसको असफलताको मूल्य एउटा पुस्ताले मात्र तिर्नेछैन । त्यसको धक्का नेपाली लोकतन्त्रले पनि महसुस गर्नेछ । त्यसैले आज कांग्रेसलाई बचाउनु भनेको कुनै एक पक्षलाई बचाउनु होइन । देउवालाई बचाउनु पनि होइन, गगनलाई जिताउनु पनि होइन । आजको आवश्यकता हो—कांग्रेसभित्रको लोकतान्त्रिक चरित्र बचाउनु । कांग्रेसको इतिहासले उसलाई एउटा ठूलो जिम्मेवारी दिएको छ । अब वर्तमान नेतृत्वको परीक्षा यही हो कि उनीहरूले त्यो इतिहासलाई झगडाको विरासत बनाउनेछन् वा सहमति र सहकार्यमार्फत लोकतान्त्रिक पुनर्जागरणको आधार? समयले यसको उत्तर खोजिरहेको छ । किनकि पार्टीभित्रको किचलो लामो हुँदै जाँदा क्षति कांग्रेसलाई मात्र हुँदैन—लोकतन्त्रको मुटुमा पनि चोट पुग्छ ।
१८ भदौ २०८३, बिहिबार
46
Shares







प्रतिक्रिया