काठमाडौँ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका छन्।
आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।
बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन्। अर्थमन्त्री शाह विदेश भ्रमणमा रहेका कारण बैठकमा अनुपस्थित थिए भने ऊर्जा तथा जलस्रोत विकासमन्त्री बुढा पनि बैठकमा सहभागी भएनन्। मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा नबसी राजीनामा बुझाएर फर्किएका थिए।
कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ। प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन्।
कांग्रेसका मन्त्रीहरूले एमाले र कांग्रेसबीच यसअघि भएको आलोपालो सरकार सञ्चालन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको बताएका छन्।








प्रतिक्रिया