Logo

मुख्य समाचार

निशा हत्या प्रकरण: ‌अ‍ारोपितले पहिले श्रीमती थाहा छैन भने पछि शव देखाए



काठमाडौं । निशा थेबेलाई छरछिमेकीले बिहीबार दिनभर देखेनन् । अरुबेला खोपाङ्गे गाउँ डुल्थिन् उनी । फेरि, बुधबार उनीहरूको घरमा हो–हल्ला सुनिएको थियो ।

निशाको घरमा जाँदा उनी नदेखिएपछि प्रहरीलाई थाहा दिएका एक युवकले बताए । ‘अघिल्लो दिन रुने/कराउने सुनिएको थियो र घरमा जाँदा देखिइनन् । नदेखिएपछि शंका लाग्यो र प्रहरीलाई थाहा दिएँ’, ती युवकले भने ।

३९ वर्षीया निशा रक्सी पिउने गर्थिन। श्रीमान् दिलिप त जहिल्यै खाने । उनीहरूबीच घरिघरी घरमा झगडा हुन्थ्यो नै । त्यही भएर कतै गम्भीर घटना त भएन ? त्यही लागेर प्रहरीलाई बेपत्ता भएको भनेर थाहा दिएको युवकले बताए ।

बेपत्ता भएको खबरपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले प्रहरी चौकी पौवासारताप र जिल्ला प्रहरी कार्यालयबाट निशाको खोजतलासमा संयुक्त टोली परिचालन गरे ।

टोलीले श्रीमान् दिलिपलाई अनुसन्धानको दायरामा ल्याए । प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार दिलिपलाई सुरुमा सोधिएको थियो – खै तपाईंकी श्रीमती ? जवाफमा दिलिपले भने– थाहा छैन सर ।

फेरि, प्रहरीले प्रतिप्रश्न गर्दै सोध्यो– आफ्नै श्रीमती थाहा हुँदैन ? अन्ततः निकैबेरपछि श्रीमती निशालाई बुधबार रक्सी खाएर झगडा हुँदा हत्या गरेको प्रहरीसामु खुलासा गरे ।

हत्याको खुलासापछि भने प्रहरी टोलीलाई उनैले निशाको शव भएको ‘सार्की खोल्सा’ मा रहेको ओढार पु‍र्‍याए । जहाँ निशाको शव पत्करले छोपिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

घटनाको कारण रक्सी खाएपछि सामान्य विवाद भएको र सोही क्रममा घाँटी थिचेर हत्या गरेको खुलेको विश्वकर्माको भनाइ छ ।

हत्या आरोपी दिलिप अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।

आइतार जिल्ला अदालत पाँचथरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिने विश्वकर्माले बताए । उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : २४ बजे