Logo

कर्पोरेट

आइएमई २६ औँ वर्षमा प्रवेश, प्रविधिमार्फत सेवा विस्तारमा जोड


२९ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौं- विप्रेषण सेवा प्रदायक आइएमईले आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत विप्रेषण तथा वित्तीय सेवालाई थप प्रभावकारी, सुरक्षित र छरितो बनाउने प्रतिबद्धता जनाएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमईका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय पहुँच विस्तार र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाइने बताए। उनले कृत्रिम बुद्धिमत्ता र स्वचालित सिकाइ प्रणालीजस्ता नवीन प्रविधिको उपयोग गर्दै सेवाको गुणस्तर अभिवृद्धि गरिने उल्लेख गरे।

आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत २६ वर्षमा कम्पनीले विप्रेषण क्षेत्रमा स्थापित पहिचान बनाएको बताउँदै औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउने तथा प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सरकारसँग सहकार्य जारी रहने बताए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले प्रविधिमा आधारित विविध सेवामार्फत नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवा विस्तार गर्दै जाने जानकारी दिए।

सोही अवसरमा कम्पनीले आफ्नो नयाँ प्रतीक चिह्न सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रतीक चिह्नले आइएमईका विस्तारित वित्तीय सेवाको प्रतिनिधित्व गर्छ।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतिस्पर्धाका विजेता तथा उपविजेतालाई सम्मान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीलाई विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ८ : ३४ बजे