Logo

Breaking News 1

हिजो विना निष्कर्ष टुङ्गिएको सत्ता गठबन्धनको बैठक आज पनि बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुन: बस्न लागेको हो । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेका हुन् ।

अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे आज छलफल हुने नेपाली कांग्रेस नेता रमेश लेखकको भनाइ छ ।

साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ३३ बजे