काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।
सम्भावित विपद्बाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा टार्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।
त्यस्तै, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको प्रवक्ता केसीले जानकारी दिए ।








प्रतिक्रिया