काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो ।
कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट्टै अनुपातमा शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कोटाबाट १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ । श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाहरूले सोलुखुम्बुको सल्लेरीस्थित माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा आवेदनि दिने समय छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते रहनेछ । त्यस्तै, आयोजना प्रभावित स्थानीयका लागि भने छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते सम्म आवेदन खुला हुनेछ ।








प्रतिक्रिया