बाजुरा । बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो ।
बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो। तर यी पाँच उम्मेदवारले सो मत ल्याउन नसक्दा धरौटी जोगाउनबाट पछी परेका हुन् ।
धरौटी जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, राप्रपाका केशर बहादुर शाही, प्रलोपाका दिपक डिसी, माओवादीका भुपेन्द्र विक र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन् ।
नेकपाका शाहले ३ हजार ३ सय १,राप्रपाका शाहीले ३ सय ५२ प्रलोपाका डिसीले ९७ माओवादीका विकले ३ सय ३३ र स्वतन्त्रका शाहिले ७२ मत मात्रै प्राप्त गरेका हुन् । कुल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ ।
निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दस प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।
बाजुरामा आठ उम्मेदवार चुनावी मैदानमा थिए । एमालेका लाल बहादुर थापालाई ५४० मतले पछाडी पार्दै कांग्रेसका जनकराज गिरीले जित हासिल गरे। गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्दा एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन्। त्यस्तै रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका हुन्।










प्रतिक्रिया