काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको छ । यसको प्रभाव कम भएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा सुधार आउने सम्भावना छ ।
विभागले आइतबार (कात्तिक १५) दिउँसो देशभर आंशिक बदली रहने जनाएको छ । देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि विभागले जनाएको छ ।








प्रतिक्रिया