बाजुरा । बाजुरामा पहिलोपटक शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । २०४८ सालयता बाजुरामा हरेक निर्वाचनमा धाँधली,झैझगडा र बुथ कब्जा हुने गरेका थिए ।
यो निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न हुँदा यसलाई नमुना मतदानको रुपमा लगिएको छ । यहाँका नागरिकले आफ्नो मत आफैंले हाल्न पाएका छन् । पहिलो पटक शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विहान ७ बजेबाट ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए । उनले यो निर्वाचन बाजुराको लागी नमुना निर्वाचन भएको समेत बताए ।
बाजुरामा ४५ हजार ४२८ पुरुष,४२ हजार ४३१ महिला र अन्य २ गरेर कुल ८७ हजार ८ सय ६१ मतदातामध्ये ४४ हजार ७ सय ७३ मत अर्थात् ५१ प्रतिशत मत खसेको हो।हरेक वर्षका निर्वाचनमा विवादित बन्दै आएको बाजुराले यो निर्वाचनलाई ऐतिहासिक र नमूना निर्वाचन स्थापित गरेको हो ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्र रहेका थिए। त्यस्तै जिल्लामा १ अस्थायी मतदान केन्द्र रहेको थियो। जहाँ १ हजार ४ सय बढि मतदाता थिए।यो निर्वाचनमा बाजुरामा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो ।
बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई जना युवाको मृत्यु भएको थियो।यस पटकको निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको खुसी लागेको सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने सुरक्षाकर्मी,निर्वाचन प्रहरी,कर्मचारी लगायत सञ्चारकर्मीलाई धन्यवाद समेत दिएका छन् ।
बाजुरामा यो निर्वाचनमा करिब सात सय बढी कर्मचारी परिचालन गरिएका थिए । त्यस्तै ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी, ३ सयभन्दा बढी नेपाली सेना तथा १ हजार ६० जना निर्वाचन प्रहरी परिचालन गरिएका हुन्।बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशिल र ३ वटा सामान्य रहेका थिए।
सम्पूर्ण मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि मात्रै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । सर्वाधिक विकट गुम्बा,बिच्छ्या,बौडीका मतपेटिका हेलिकप्टरबाट ल्याईने भएको हो। कतिपय मतपेटिकाहरु सदरमुकाम पुगिसकेका छन्।
बाँकी अन्य मतदान स्थलका मतपेटिका आज राती र भोली विहानसम्म सदरमुकाम पुर्याइने भएको हो।बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी नेकपा,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विच प्रतिस्पर्धा हुने देखिएको छ ।
२१ फाल्गुन २०८२, बिहिबार
0
Shares








प्रतिक्रिया