काठमाडौं । नेपाल रग्बी सङ्घको १३ औँ वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ । साधारण सभामा सङ्घका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए ।
सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा सङ्घका अध्यक्ष दीपक देवकोटाले सङ्घको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए। जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित ग¥यो ।
यस्तै सङ्घका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको सङ्घको योजना प्रस्तुत गरेका थिए ।
यस वर्ष रग्बीले बङ्गलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रङ्गशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो ।
महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ । यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले उद्घाटन गरेका थिए । सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीन बहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए ।
त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी सङ्घका सदस्य सन्त कुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेष कुमार श्रेष्ठलाई सम्मान गरे ।










प्रतिक्रिया