सर्लाही । सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो ।
आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो । स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका छन् ।
साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध गरेका छन् । यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिले काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखुबालि आगलागीले नष्ट भएपछी स्थानीय किसानको जीवनयापनमै गहिरो असर पारेको छ ।










प्रतिक्रिया