Logo

Breaking News 1

नेशनल प्याब्सन काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह गर्ने



काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) काठमाडौंको वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाव्यापी खेलकुद सप्ताह २०८२ को आयोजना गर्न लागेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनमा सञ्चालन हुन गइरहेको सप्ताह आठौँ संस्करणका रुपमा यही मंसिर २२ गतेदेखि एक समारोहका बिच उद्घाटन हुनेछ ।

विगत वर्षहरुझैँ यस वर्ष पनि विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको विकास गर्दै अनुशासित र सक्षम नागरिक तयार गर्ने उद्देश्यले यस्तो किसिमको खेलकुद सप्ताह आयोजना गर्दै आएको हो ।

सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुका बिचमा आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने जनाइएको छ ।

सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १३९ वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउने छन् । आठौं संस्करणको उद्घाटन सत्र यही मंसिर २२ गते काठमाडौंको सिफल खेलमैदानमा खेलकुदमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ ।

यस सप्ताहव्यापी खेलकुदमा मुख्य गरी पाँचवटा विधामा प्रतिस्पर्धा गराइनेछ । चारवटा विधा सदस्य विद्यालयहरुको सहभागितामा सशुल्क तथा एउटा विधा मार्चपास भने निःशुल्क सञ्चालन गरिने छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  १२ : ४९ बजे