हेटौँडा । पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो ।
काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौँडा–१ स्थित चौकीटोल (तिरतिरे धारा) बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने निर्णय गरिएको छ । पूर्वतर्फबाट प्रवेश गर्ने सवारीलाई समेत रातोमाटेदेखि नै डायभर्ट गरिने तयारी कार्यालयले पूरा गरिसकेको छ ।
कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक विस्तार तथा मर्मत कार्य चरणबद्ध रूपमा अघि बढाइँदैछ । ‘मुख्य बजार क्षेत्रमा निर्माण जारी रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै सवारी चलाइनेछ,’ अधिकारीले बताए । उनका अनुसार रातोमाटे–त्रिवेणीधाम–राप्ती पुल मार्गलाई मुख्य वैकल्पिक रुटका रूपमा प्रयोग गरिनेछ ।
यस्तै, काठमाडौँ वा नारायणगढबाट आएका र वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजार क्षेत्रमै नल्याई वैकल्पिक बाटोतर्फ मोडिने व्यवस्था मिलाइएको छ । पूर्वतर्फ जाने सवारीलाई राप्ती पुल–त्रिवेणी–रातोमाटे मार्ग प्रयोग गराइने छ भने पश्चिमतर्फ चितवन वा काठमाडौँतर्फ जाने सवारीलाई पुनः रातोमाटे–राप्ती पुल हुँदै नै चलाइनेछ ।
कान्ति र मदन भण्डारी लोकमार्गतर्फ जाने सवारीलाई पनि कमाने हुँदै रातोमाटे पु¥याउने योजना अगाडि सारिएको छ। वैकल्पिक रुट सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, ग्राभेल प्याक गर्ने लगायतका काम शुरु भइसकेको अधिकारीले बताए ।










प्रतिक्रिया