काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बहादुर बस्नेतले देशको प्रमुख समस्या बेरोजगारी रहेको बताएका छन् ।
मंगलबार पोखरामा आयोजित पर्यटनमय पोखरा कार्यक्रममा बोल्दै उनले पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई रोजगारी सिर्जनाका मुख्य स्तम्भका रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए ।
बस्नेतले बेरोजगार युवाको समस्याले असन्तुष्टि, दुर्घटना तथा विभिन्न सामाजिक घटना बढिरहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सके मात्रै रोजगारी विस्तारतर्फ ठोस परिणाम देखिने बताए ।
उनले भने, ‘मुख्य समस्या यो राष्ट्रको अहिले बेरोजगारी हो । बेरोजगारीको कारणले गर्दाखेरी जे जति घटनाहरु घटिरहेका छन्, असन्तुष्टि र दुर्घटनाहरु बढेका छन् । बेरोजगारीलाई रोकेर रोजगारी शिर्जना गर्ने दुई वटा स्तम्भहरु हामीसँग छन् जसमा पर्यटनलाई चलायमान बनाउनुपर्छ ।’
बस्नेतका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत वार्षिक १०–११ लाख विदेशी पर्यटक नेपाल प्रवेश गर्छन् । ‘नेपाल आउने ११ लाख पर्यटकमा कुनै विवाद छैन, तर यसभन्दा बढी पर्यटक भित्र्याउन हामी असफल भइरहेका छौँ,’ उनले भने ।
पर्यटन वृद्धि रोकिएको मुख्य कारण अन्तरदेशीय उडान विस्तार हुन नसक्नु र अन्तर्राष्ट्रिय भाडा अत्यधिक महँगो हुनु रहेको नेता बस्नेतको भनाइ थियो । ‘हामीले अन्तरमार्ग–देशीय उडान सञ्चालन नगरेसम्म पर्यटक संख्या वृद्धि हुन सक्दैन। भाडा सस्तो नबनाईकन पनि पर्यटक आउने अवस्था छैन,’ उनले भने ।
बस्नेतले कृषि आधुनिकीकरण तथा सूचना–प्रविधिमुखी शिक्षामा लगानी बढाए मात्र रोजगारीका नयाँ अवसर सिर्जना हुने र बेरोजगारी नियन्त्रणतर्फ महत्वपूर्ण प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया