काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले कार्यतालिका नभइ महाधिवेशन नै माग गरेको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित एक भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् ।
‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं‚’ विज्ञप्तिमा भनिएको छ ।
वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन‚’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन् ।










प्रतिक्रिया