विराटनगर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा कोशी प्रदेश सरकारले कुल विनियोजनको पाँच प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ। पछिल्ला तीन आर्थिक वर्षको तुलनामा यस वर्ष खर्च दर सबैभन्दा कम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चार महिनामा कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ विनियोजनमध्ये तीन अर्ब २९ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये पुँजीगत खर्च ८३ करोड २१ लाख रुपैयाँ (५ प्रतिशत) रहेको छ। चालु खर्च एक अर्ब ५९ करोड ११ लाख रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरण ८७ करोड २६ लाख रुपैयाँ भएको मन्त्रालयले जनाएको छ।
पछिल्ला वर्षहरूसँग तुलना गर्दा यस वर्ष खर्च दर घटेको देखिएको छ। आव २०७९/८० को पहिलो चौमासमा कुल विनियोजनको १५.१ प्रतिशत खर्च भएको थियो भने आव २०८०/८१ मा १३.७ प्रतिशत, र आव २०८१/८२ मा १६.८ प्रतिशत खर्च भएको थियो। चालु वर्षमा भने पहिलो चौमाससम्म कुल खर्च ९.२ प्रतिशतमा सीमित भएको छ।
पहिलो चौमासमा सबैभन्दा धेरै खर्च असोज महिनामा एक अर्ब ९४ करोड ३७ लाख रुपैयाँ भएको छ भने सबैभन्दा कम खर्च साउन महिनामा भएको मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया