Logo

मुख्य समाचार

बाजुराको दानसाँघु खोलामा जडाङ्गाको बेलिब्रिज स्थानान्तरण हुने, आवतजावतमा सहज हुने अपेक्षा



बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिकाको दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको लागी शिलान्यास गरिएको छ । लामो समयको अथक प्रयास पछि उक्त खोलामा पुल निर्माणका लागी बुधबार शिलान्यास गरिएको हो ।

बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले बेलिब्रिज पुलको शिलान्यास गरेका हुन् । साँफे मार्तडी सडकखण्डको जडाङ्गा स्थित प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई दानसाँघु खोलामा स्थानान्तरण गरि पुनः स्थापना गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा उक्त पुल सार्न लागेको हो । नगरपालिकाको निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले सार्थकता पाएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।

उनका अनुसार, बेलिब्रिज निर्माण भए पश्चात् माथिल्लो क्षेत्रका नागरिकलाई ठुलो राहत मिल्ने बताएका छन् । साथै सवारीसाधन र स्थानीयको आउजाउमा सहज हुने अपेक्षा लगिएको बताए । मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २६ वर्ष बितिसक्दा पनि उक्त खोलामा पुल निर्माण हुन सकेको थिएन ।

सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी बेलिब्रिज पुलको सर्भे गरिको थियो । मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ भने अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै रजातोली खोलामा पनि पुल बन्न सकेको छैन् । पुल निर्माण नभएका खोलामा बर्षातको समय पानीको बहाव बढ्दा समस्या हुने गरेको छ । पुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका,हिमाली, जगनाथ र स्वामिकार्तिकका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने भएको छ ।

यतिवेला खोलामा पुल नहुँदा यातायातका साधनलाई समस्या हुदैँ आएको थियो।अहिले बुढिगंगाको बेलिब्रिज जडान गरि यातायातका साधनलाई सहज बनाईने भएको हो । साथै पक्की पुल निर्माणका लागी ठेक्का प्रक्रिया पनि अघि बढिसकेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ९ : ५९ बजे