झापा । यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेको अलैँचीको मूल्य अहिले केही घटेको छ। नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालका अनुसार हाल किसानबाट प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा खरिद भइरहेको छ।
व्यवसायीहरूले किसानबाट ‘जेजे’ र ‘चालू’ गरी दुई किसिमको अलैँची खरिद गर्दै आएका छन्। जेजे अलैँची प्रतिमन एक लाख रुपैयाँमा र चालू अलैँची ९७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
मंगलबार जेजे अलैँचीको मूल्य प्रतिमन एक लाख दुई हजार रुपैयाँ पुगेको थियो। आज भने मूल्य दुई हजार रुपैयाँले घटेको अध्यक्ष नेपालले जानकारी दिए। उनका अनुसार, “अलैँचीको मूल्य निरन्तर बढ्दै गएको थियो, आजमात्र ओरालो लागेको हो।”
हाल औलो क्षेत्रका किसानहरूले अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रका किसानले भर्खरै भट्टी सुकाउने कार्य सुरु गरेका छन्।
अलैँचीको उच्च बजार मूल्यका कारण यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ। मूल्य वृद्धि सँगै पूर्वी पहाडी क्षेत्रका किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
नेपालमा ४२ जिल्लामा अलैँची खेती हुने गरे पनि कोसी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा बढी उत्पादन हुन्छ। देशभर करिब सात हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ।
नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत भारत निर्यात हुने गरेको छ। भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ गरी विश्वबजारमा पठाइने गरिएको महासंघले जनाएको छ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाकाबाट रु सात अर्ब ६७ करोड मूल्य बराबरको अलैँची भारत निर्यात गरिएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा निर्यात ३३ प्रतिशतले वृद्धि भई एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार मूल्य बराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत पठाइएको छ।










प्रतिक्रिया