काठमाडौं – भोटेकोसी जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर अब जेनजी समूहले सित्तैमा होइन, खरिद गरेर पाउने भएका छन्। असोज २६ गते प्रमुख जिल्ला अधिकारीको संयोजनमा भएको छलफलपछि प्रतिकित्ता १०० रुपैयाँमा सेयर किन्ने सहमति भएको हो।
यसअघि जेनजी समूहले भोटेकोसी पावर कम्पनीबाट १० प्रतिशत सेयर निःशुल्क माग गरेपछि देशभरका जलविद्युत् लगानीकर्ता र प्रवर्द्धकहरूबीच त्रास फैलिएको थियो। असोज २ गते भोटेकोसी गाउँपालिकाको कार्यालयमा समूहले जबरजस्ती र अराजक शैलीमा सेयर माग गरेपछि तनाव उत्पन्न भएको थियो।
विवाद चुलिएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, ऊर्जा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर शालिग्राम भण्डारी, गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, र विभिन्न वडाका प्रतिनिधिहरूको सहभागितामा असोज २६ गते समाधान खोजिएको हो।
सहमति अनुसार:
- जेनजी समूहले स्थानीयका तर्फबाट स्थापना गरेको ‘भोटेकोसी जेनजी पब्लिक इन्भेष्टमेन्ट प्रा.लि.’ नामक कम्पनीमार्फत १० प्रतिशत सेयर खरिद गर्नेछ।
- भोटेकोसी पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले करिब १९ करोड रुपैयाँ बराबरको सेयर उक्त सार्वजनिक कम्पनीलाई बिक्री गर्नेछ।
- सेयर खरिदका लागि आवश्यक ऋणको लागि भोटेकोसी पावर कम्पनी बैंकमा जमानी बस्नेछ।
- सो ऋणको साँवा र ब्याज आगामी एक वर्षमा सेयरबाट प्राप्त हुने लाभांशबाट भुक्तानी गरिनेछ। यदि लाभांशले पर्याप्त नपुगेमा सार्वजनिक कम्पनीले बाँकी रकम व्यहोर्नुपर्नेछ।
इन्जिनियर भण्डारीका अनुसार, “सेयर निःशुल्क होइन, स्थानीय अधिकार अन्तर्गत मूल्य तिरेर दिइने हो,” भन्दै पहिलेको प्रचारप्रति आपत्ति जनाए।
यसैबीच, जेनजी समूहले सिन्धुपाल्चोक जिल्लाका अन्य दुई दर्जन जलविद्युत् आयोजना समक्ष पनि १० प्रतिशत सेयर निःशुल्क माग गर्दै पत्र पठाएको खुलेको छ। यसले माथिल्लो बलेफी ‘ए’, याम्बलिङ खोला, दुधखोला, चाकु ‘ए’ लगायतका आयोजनामा कार्यरत प्रवर्द्धकहरूलाई चिन्तित बनाएको छ।
भोटेकोसी पावर कम्पनी वैदेशिक लगानीबाट सञ्चालित कम्पनी हो, जसले सन् २००१ देखि उत्पादन थालेको हो। प्रारम्भिक सम्झौताअनुसार २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको भए पनि सन् २०३० सम्म सञ्चालनको अनुमति दिइएको छ।
प्रतिक्रिया