Logo

Breaking News 1

दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ,’उनले सन्देशमा भनेका छन् ।

गत भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले सुरक्षाकर्मी र युवाहरूको ज्यान गुमाएको घटनालाई नेपालको इतिहासकै एक अल्कपनीय र पीडादायक क्षणका रूपमा उल्लेख गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

देउवाले सो प्रदर्शनको क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू, नेताहरूको निजी निवास र सर्वसाधारणका सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ‘नेपालको उन्नति र प्रगतिसँग जोडिएका संरचनाहरूमा भएको क्षति दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन् ।

राजनीतिक समस्याहरूको समाधान संविधानमार्फत नै खोजिनु पर्नेमा जोड दिंदै उनले सात दशक लामो संघर्षबाट प्राप्त वर्तमान संविधानलाई नेपाली जनताको प्रतिनिधि सभामार्फत बनेको ऐतिहासिक दस्तावेजको रूपमा व्याख्या गरेका छन् । ‘संविधानमै सबै जटिलताहरूको समाधान सम्भव छ,’ देउवाले उल्लेख गरेका छन्, ‘स्थिरता र प्रगति सुनिश्चित गर्न हामी सबैको योगदान अनिवार्य छ ।’

उनले दसैंको सांस्कृतिक र धार्मिक महत्त्वलाई स्मरण गराउँदै अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय दिने सन्देशलाई आत्मसात गर्न सबैलाई आह्वान गरेका छन्। साथै, यो पर्वले समाजमा सहिष्णुता र एकताको भावना अझ गहिरो बनाओस् भन्ने कामनासहित देउवाले सबै नेपालीमा आत्मबल, विवेक र सहकार्यको भावनाको अभिवृद्धिको कामना गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ४६ बजे