Logo

मुख्य समाचार

विराटनगरका प्रहरी निरीक्षक कविन राई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित



विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

भदौ २८ गते उनको कमाण्डमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित चेकजाँच गर्ने क्रममा बन्दाकोपीमा लुकाएर ल्याइएको २ सय ६२ किलो ५८० ग्राम गाँजा बरामद गर्न सफल भएको थियो । सो क्रममा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरी विराटनगरका विभिन्न स्थानहरूबाट चोरी भएका सामग्रीहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

बरामद वस्तुमध्ये ल्यापटप ११ थान, मोटरसाइकल १ थान, अटो टेम्पो ३ थान, सिटी रिक्सा १ थान, स्कुटर ४ थान, ब्याट्री १४ थान, इनभर्टर ३ थान, सोफा ४ थान, फ्रिज २ थान, एसी १ थान, इलेक्ट्रिकल ओभन १ थान, स्ट्यान्ड फ्यान २ थान र इन्डक्सन चुलो १ थान रहेका छन् ।

यसबाहेक, लागू औषध नियन्त्रण ब्युरोसँगको समन्वयमा विराटनगर महानगरपालिका–१३ र १५ क्षेत्रमा गरिएको अभियानमार्फत ३ सय ३७ ग्राम लागूऔषध ‘ब्राउनसुगर’ सहित तीन जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : २७ बजे