हेटौंडा । दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ । शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।
मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका छन् ।
किसानहरूले भने बजारको अव्यवस्थित अवस्थाबारे गुनासो गरेका छन्। उनीहरूका अनुसार राप्ती खोलाको किनारमा रहेको यो खसी बजारमा हरेक वर्ष जस्तै यस वर्ष पनि उचित व्यवस्थापन नभएको कारण किनमेल र यातायातमा समस्या भइरहेको छ । लाखौँको संख्यामा ल्याइने खसी र बोकाका कारण बाटो अवरुद्ध हुने, किनमेलका क्रममा ज्यानको जोखिम हुने अवस्था देखिएको किसानहरूको गुनासो छ ।
स्थानीय स्तरमा उचित पूर्वाधार र व्यवस्थापनको अभावले किसान र उपभोक्ता दुवैलाई असुविधा भइरहेको बताउँदै उनीहरूले हेटौंडा उपमहानगरलाई बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया