बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना गरिँदैछ ।
पौराणिक ग्रन्थअनुसार शिरमा अर्धचन्द्र र हातमा चन्द्रको आकार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम ‘चन्द्रघण्टा’ रहन गएको हो । देवीको स्वरुप पहेँलो वर्णको शान्त, करुणामयी भए पनि यिनी दानवीय शक्तिहरूको नाश गर्ने शक्तिशाली रूपकी रूपमा वर्णन गरिएको छ ।
धर्मशास्त्रीहरूका अनुसार चन्द्रघण्टा देवीको ध्यानले शक्ति, ऐश्वर्य, विद्या प्राप्त हुने विश्वास छ । विशेषगरी संगीत क्षेत्रमा लागेकाहरूले आजको दिन देवीको पूजा आराधना गर्न विशेष महत्त्व दिने गर्छन् ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। अब क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा हुँदै जानेछ ।
नवरात्रका अवसरमा घरघरमा मात्र नभई देशभरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिने यो साधना र आराधना विजयादशमी र कोजाग्रत पूर्णिमासम्म निरन्तर पर्वका रूपमा मनाइन्छ ।
प्रतिक्रिया