Logo

मुख्य समाचार

बाजुराको ‘बसिबियाँलो घर’ अन्तर मनका भावना बिसाउने चौतारी बन्दै



बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरामा स्थापना गरिएको नागरिक मैत्री पुस्तकालय ‘बसिबियाँलो घर’ पछिल्लो समय मनका भावनाहरु बिसाउने चौतारो बन्दै गएको छ ।

विभिन्न लेखकहरुका रोचक पुस्तकहरु राख्ने गरि स्थापना गरिएको उक्त ‘बसिबियाँलो घर’ मा पछिल्लो समय नागरिकहरु गएर पुस्तक अध्ययन सङ्गै एक–आपसमा मनका भावनाहरु साटासाट गर्ने गरे सङ्गै ‘बसिबियाँलो घर’ मनका भावनाहरु बिसाउने चौतारो बन्दै गएको प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले बताए ।

उनका अनुसार, तत्कालिन प्रहरी नायव उपरिक्षक डिएसपी दिलिप कुमार गिरीको पालामा स्थापना गरिएको नागरिकमैत्री पुस्तकालयमा विभिन्न किताबहरुको अध्ययन गर्दै ज्ञान बटुल्नको लागी पछिल्लो समय नागरिकहरुको आकर्षण बढ्दै गएको बताए ।

विभिन्न लेखकका पुस्तक राख्ने गरी प्रहरीकै जनश्रमदान,पुस्तकको लागी जिल्लाका ९ वटै पालिका र भवन निमार्णको लागी बडीमालिका नगरपालिका,हिमाली गाउँपालिका, त्रिबेणी नगरपालिका,उद्योग बाणिज्य संघ,र व्यबसायिहरुको सहयोगमा उक्त नागरिक मैत्री पुस्तकालय निर्माण गरिएको थियो ।

अहिले नागरिक मैत्रि पुस्तकालमा विभिन्न साहित्यिक पुस्तक,राजनितिक पुस्तक,कला संस्कृति सम्बन्धी पुस्तकहरु,देश तथा बिदेशको बिद्यमान अवस्थाको चित्रण गरिएका लगायत विभिन्न उत्कृष्ट, मदन पुरस्कार विजेता लगाएतका पुस्तकहरु राखिएका छन् ।

नागरिक मैत्री पुस्तकालयको स्थापना र विभिन्न लेखकका पुस्तकहरुको व्यवस्थापन गरिए सङ्गै यहाँका नागरिकहरुलाई जुनसुकै समयमा पनि अध्ययन गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । किताब अध्ययन गर्न निकै सौख भएका ब्यक्तिहरुको लागी यस नागरिक मैत्री पुस्तकालयले ठुलो सहयोग गरेको बताईएको छ ।

पुस्तकालयले साथिभाईहरुको गौड्या भेट,मनमा लागेका बहकिने कुरा सुन्दै सुनाउदै किताबको दुनियाँमा त्यहाँ रमाउन सकिने ब्यबस्था छ । साथै सुन्दर मार्तडी बजारको दृश्य अवलोकन पनि गर्न सकिन्छ ।पुस्तकालय भित्र करिब पाँच लाख सम्मका उत्कृष्ट पुस्तक राखिएका छन्। नागरिक मैत्री पुस्तकालयमा जिल्लाका ९ वटै पालिका,विभिन्न संस्था,बिद्यालय तथा ब्यक्तिले उपलब्ध गराईएका पुस्तक राखिएका छन् ।

निर्माण गरेको पुस्तकालयमा चिया,कफी,मनोरञ्जनका लागि टेलिभिजन,पहिलेको प्रहरी कार्यालयको अवस्था लगायतका दृश्यहरु समेत राखिएका छन् । फुर्सदमा रहेका नागरिकले दिनभर आफुले चाहेका पुस्तक पढ्न पाउने र घरमा लिएर पनि पुस्तक पढ्ने व्यवस्था रहेको छ । उक्त पुस्तकालयबाट नागरिकहरुले आफ्नो समय अनुसार जतिसुकै बेला पनि पुस्तकको अध्ययन गर्न सक्ने ब्यबस्था रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ४९ बजे