Logo

Breaking News 1

नेपालीहरुको मनबाट हिंसामुक्त गराउन सकारात्मक सोचको विकास हुनुपर्छ



हाम्रो देशमा पुराना मूल्य, सांस्कृतिक धरोहर र आधुनिक प्रणालीको संयोजनले मात्र सामाजिक स्थिरता र नागरिकको चेतनामा सुधार ल्याउन सक्छ । नकारात्मक प्रभावहरू हटाएर, उपलब्धि र अवसरलाई आत्मसात गरेर मात्र सकारात्मक भविष्य निर्माण गर्न सकिन्छ ।’
बुद्धि तामाङ
अध्येता
संस्कृति तथा विकास

काठमाडौं । विकास, दर्शन, समाजशास्त्र र नेतृत्व प्रशिक्षणमा अनुभव राख्ने बुद्धि तामाङले नेपाल न्यूज बैंकसँग हालै गरेको कुराकानीमा नेपाली समाज, राजनीतिक संरचना, मानसिकता र व्यक्तिगत विकासबारे गहन दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका अनुसार, मानव मन र व्यवहारमा दुई प्रमुख स्रोतले प्रभाव पार्छ अघिल्लो जुनीको रागको प्रभाव र जेनेटिक संरचना अनुसार समाज प्रभावित हुनेछ ।

तामाङका अनुसार, ‘पहिलो जुनीको राग’ भन्नाले विगत जीवन वा अनुभवबाट आएका मानसिक प्रभावलाई जनाउँछ । उनले व्याख्या गरेका छन, ‘मानिसले पहिले कस्तो कर्म गर्यो—चोर, डाँका वा गुण्डा—त्यो प्रभाव अदृश्य तर सँधैं वर्तमान जीवनमा टाँसेर आउँछ । यसले व्यक्तिको मन र व्यवहारमा ठूलो भूमिका खेल्छ ।’

त्यस्तै, जेनेटिक संरचना (जिन) को प्रभाव पनि हुन्छ । उनले भने, ‘जिन भनेको हजुरबा–आमा वा पुर्खाबाट आउने विशेषताहरू हुन् । यसको प्रभाव सीमित हुन्छ, तर जीवनका केही पक्षमा देखिन सक्छ ।’ तर, सबैभन्दा ठूलो प्रभाव सामाजिक संरचनाले बनाउने मानसिकता नै भएको उनको बुुझाइ छ । नवजात बच्चा जन्मँदा जात, समुदाय वा सामाजिक विभेदको अनुभव हुँदैन । भर्खर जन्मेको बच्चालाई बाहुन, क्षेत्री, तामाङ, मगर वा अन्य कुनै जाति थाहा हुँदैन । उसको मन माटो जस्तै शुद्ध हुने उनको तर्क छ ।

‘सामाजिक निर्माण प्रक्रिया परिवारबाट सुरु हुन्छ—आमा, बुबा, छिमेकी, साथीभाइ, स्कूल र कलेजले क्रमशः बच्चाको मन र व्यवहारलाई आकार दिन्छ । उदाहरणका लागि, दशैंमा बच्चालाई चकलेट दिने अभ्यासलाई उदाहरणका रुपमा प्रश्तुत गर्दै भने,‘यदि बच्चाले अरुलाई चकलेट दिन खोज्यो भने आमाले नदिने अभ्यास गराउँछन् । यसरी बच्चाले ‘मेरो’ भन्ने भावना सिक्छ । यो सामाजिक निर्माण हो, जन्मजात होइन ।’

तामाङले सामाजिक प्रभावले जन्माउने नकारात्मक भावनाहरू (जस्तै अहंकार, ईष्र्या, प्रतिस्पर्धा) को उदाहरण पनि दिएका छन् । उनी भन्छन्, ‘साथीको प्रगति देख्दा ईष्र्या आउँछ, आफ्नो स्थिति देख्दा सन्तोष वा आत्मसन्तुष्टि हुन्छ । यी सबै हाम्रो मनको सोसियल्ली कन्स्ट्रक्टेड संरचना हुन् । हामीलाई थाहा छैन तर यी भावनाहरू हाम्रा दैनिक व्यवहारमा देखा पर्छन ।’

उनका अनुसार वर्तमान समयमा मुलधारका मिडिया, सामाजिक सञ्जाल, एनजिओ, विदेशी संस्था र राजनीतिक भाषणहरूले पनि समाजमा व्यवहार र सोचको निर्माणमा ठूलो भूमिका खेल्ने गरेका हुन्छन् । आजको सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो र अनलाइन प्लेटफर्महरूले नागरिकलाई नेगेटिभ सोच सिकाइरहेका उनको तर्क छ । यस्ता सञ्जालहरुले समाजमा समस्या मात्र देखाउने र समाधान नदेखाउने हुनाले यसले मानिसको मानसिकतामा दबाब र नकारात्मक प्रभाव पार्ने उनको दाबी छ ।

तामाङले यो प्रणालीलाई नव–उदारवादी (न्यु लिबरालीजम) र मानवअधिकारको नाममा आयातित संरचना पनि भनेका छन् । उनका अनुसार, बहुदलीय चुनाव, मानवअधिकार, समावेशीकरण र विदेशी सहयोगले नेपालमा नयाँ संरचना ल्याएको छ, तर यसले पुराना सांस्कृतिक मूल्य र सामाजिक मानसिकतालाई चुनौती दिएको छ । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै उनले भने,‘म काभ्रेको गाउँमा जन्मेँ । प्रारम्भिक शिक्षा गाउँमै भयो । स्कुल जान पाइनँ । मामाघर र बुबाको घरमा पढाइ सीमित थियो । पछि विभिन्न शहरमा गएँ र माक्र्सवादी शिक्षा, पूर्वीय दर्शन, योग, ध्यान र नेतृत्व प्रशिक्षण अध्ययन गरेँ ।’

उनले व्यक्तिगत विकास र सकारात्मक सोचको महत्वमा जोड दिदै मानिसले आफ्ना क्षमता र ज्ञानलाई पहिचान गर्नुपर्ने बताए । आफ्नै उपलब्धि, परिवार र समाजमा योगदानलाई मूल्यांकन गर्नु नै जीवनको लक्ष्य भएको उनको जोड छ ।
धार्मिक, दार्शनिक र सांस्कृतिक विविधताको महत्त्वमा पनि उनले चर्चा गरेका छन् । हिन्दू, बौद्ध, जैन, चार्वक, वेद, वेदान्त र पूर्वीय दर्शनको अध्ययनबाट जीवन दृष्टिकोण र मानसिक शान्ति प्राप्त हुने भएकाले मानिसको चेतना, मन र समाजको संरचना पुराना मूल्य र सांस्कृतिक धरोहरसँग गहिरो सम्बन्ध राख्ने उनले बताए । यसलाई बुझ्न र सकारात्मक ढंगले उपयोग गर्नुपर्ने तामाङको भनाई छ ।

उनी समाज सुधारमा व्यक्तिगत जिम्मेवारी र सक्रियतामा विश्वास राख्छन् । ‘सरकारको आलोचना गर्नु महत्त्वपूर्ण छ, तर आफ्नै जीवन, परिवार र समाजमा योगदान दिनु अझ महत्वपूर्ण छ । उपलब्धि र सकारात्मक पक्षलाई स्वीकार गर्नु, संवद्र्धन गर्नु र लागू गर्नु नै वास्तविक परिवर्तन हो ।’

ऐतिहासिक सन्दर्भमा उनले भने,‘नेपालको सामाजिक र राजनीतिक इतिहासमा धेरै उतार–चढाव आएको छ । राजा महेन्द्र, बिरेन्द्र र तिनको शासनकालमा राज्य संरचना, शिक्षा र पूर्वाधार विकासमा योगदान पुगेको थियो । विद्यार्थी आन्दोलन, जनविद्रोह र माओवादी आन्दोलनले युवाहरूमा अवसर र सामाजिक चेतना बढाएको छ । वैदेशिक रोजगार, प्राइभेट बैंकको स्थापना, यातायात र शिक्षा क्षेत्रमा पहुँच बढेको छ ।’

तामाङले सामाजिक विकास र सकारात्मक सोचको आधारमा नौवटा क्लेश (अहंकार, ईष्र्या, लोभ आदि) हटाउन आवश्यक रहेको बताएका छन् । उनले भने, ‘यी नेगेटिभ गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवता जस्तै बनाउन सकिन्छ । यो हाम्रो भित्र छ, बाहिर होइन ।’ उनले व्यक्तिगत जीवनका अनुभव सुनाउँदै शिक्षा, विदेश अध्ययन, माक्र्सवादी विचार, एप्रिसिएटिभ इन्क्वाइरी, प्रशिक्षण र अनुसन्धान अनुभव उल्लेख गर्दै थाइल्याण्ड र अमेरिकामा अध्ययनपछि आफु नेपाल फर्केर शिक्षण र समाज सुधारका काममा लागेको बताएका छन् ।

उनी भन्छन,‘मेरो जीवनमा मैले भोगेका चुनौती, अध्ययन र अनुसन्धानले मलाई नेपाली समाज, सांस्कृतिक मूल्य र राजनीतिक संरचनालाई बुझ्न सहयोग पु¥यायो । म स्वतन्त्र रुपमा काम गर्दै आएको छु र दल वा राजनीतिक पार्टीमा आबद्ध छैन् ।’ तामाङले सकारात्मक सोचको आधारमा नैतिक, सामाजिक र व्यक्तिगत विकासमा जोड दिएका छन् । उनले भने,‘मेरो शरीर, मन र ज्ञान अमूल्य साधन हुन् । यसलाई सकारात्मक ढंगले उपयोग गरेर परिवार, समाज र मुलुकको विकासमा योगदान दिनुपर्छ ।’

उनले नेपालमा प्राप्त उपलब्धि, पुराना मूल्य र आधुनिक संरचनाको संरक्षण, संवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । ‘हामीले पाएका सम्पत्ति र अवसरलाई पहिचान गरेर बढाउँदै जानुपर्छ । सकारात्मक सोच र योगदानले मात्र समाज विकासमा प्रभाव पार्छ ।’ तामाङका अनुसार, नेपाली समाज, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वीय दर्शनले मानिसको मन र चेतनामा सकारात्मक प्रभाव पार्न सक्छ । उनले व्यक्तिगत अनुभव, ऐतिहासिक सन्दर्भ र सामाजिक विश्लेषण मार्फत समाज सुधार र विकासका उपाय सुझाएका छन् ।

उनी भन्छन,‘हाम्रो देशमा पुराना मूल्य, सांस्कृतिक धरोहर र आधुनिक प्रणालीको संयोजनले मात्र सामाजिक स्थिरता र नागरिकको चेतनामा सुधार ल्याउन सक्छ । नकारात्मक प्रभावहरू हटाएर, उपलब्धि र अवसरलाई आत्मसात गरेर मात्र सकारात्मक भविष्य निर्माण गर्न सकिन्छ ।’

उनको विचार अनुसार, सामाजिक संरचना, चेतना र सकारात्मक सोच नेपाली नागरिकको जीवन, विकास र समाज सुधारका लागि आधारभूत साधन हुन् । उनले पुराना मूल्य र उपलब्धिलाई पहिचान गर्नुपर्ने, व्यक्तिगत क्षमता र ज्ञानलाई सकारात्मक ढंगले उपयोग गर्न, सामाजिक संरचना र वातावरणले सिकाएको नकारात्मक गुणलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । साथै उनले आफ्नो उपलब्धि, परिवार र समाजमा योगदानको लागि मूल्यांकन गर्न, समग्रमा देशको विकासमा योगदान पु¥याउन र वर्तमान नेपाली समाजमा नयाँ सोच, सकारात्मक चेतना र व्यक्तिगत जिम्मेवारीको आवश्यकता स्पष्ट रूपमा देखाउँछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : १२ बजे