बाजुरा । नेपाल पत्रकार महासंघ बाजुराले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । एक कार्यक्रमका बिच शुक्रबार महासंघ बाजुराले आफ्नै भवनमा नेपालको नक्सामा संविधान लेखेर दिप प्रज्वलन गरि दिवस मनाएको हो ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा महासंघ बाजुराले दिप प्रज्वलन गरेर दिवस मनाएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।
उनका अनुसार, लोकतन्त्र, समानता र समावेशीताको आधारशीला संविधानको संरक्षण र रक्षाको निमित्त संविधान दिवस २०८२ को अवसरमा बाजुरा शाखाको आयोजनामा दीप प्रज्वलन गरिएको बताए ।
देशको मुहार हेर्ने ऐना संविधान सम्पुर्णको संरक्षक भएकोले संविधानको पालक बन्न जरुरी रहेको सचिव रौलेले बताएका छन्। संविधान बाँचे सबै बाँच्नुका साथै देश पनि सदासदा जिवित रहिरहने हुँदा संविधानको संरक्षण तथा सुरक्षा गर्न आवश्यक रहेको उनले बताएका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौले,सह–सचिव जनक बोहरा,राजेन्द्र विक,प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,सचिव सुशील रोकाया लगायतको सहभागी रहेको थियो ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । संविधान जारी भएको आज १० बर्ष पूरा भएको छ ।
प्रतिक्रिया