Logo

अर्थ

अलैँचीको मूल्य घट्यो


३ आश्विन २०८२, शुक्रबार  

69
Shares

झापा । नगदे बाली अलैँचीको बजार मूल्य घटेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा अलैँची प्रतिमन (४० किलो) गुणस्तरअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको छ।

सबैभन्दा उत्कृष्ट ‘बोल्ड’ अलैँचीको मूल्य प्रतिमन रु ९२ हजार, सामान्य ‘चालु’को रु ८१ हजार र मध्यम ‘जेजे’को रु ८४ हजार कायम भएको अध्यक्ष नेपालले जानकारी दिए। भदौको पहिलो साता प्रतिमन रु ९४ हजारमा कारोबार भए पनि पछिल्ला दिनमा मूल्य घटेको हो।

उनका अनुसार दसैँअघि किसानले खर्च टार्न सानो परिमाणमा अलैँची बिक्री गर्न थालेका छन्। साथै, लेकाली अलैँची धमाधम सुकाउने क्रम जारी भएकाले बजारमा थप आपूर्ति हुने सम्भावना छ।

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरेको छ। विशेषतः कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यसको अत्यधिक उत्पादन हुन्छ। महासङ्घका अनुसार कोशी प्रदेशमा ७,५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ।

नेपालमा वार्षिक अलैँची उत्पादन आठ हजार मेट्रिक टनसम्म हुने गर्छ। कुल उत्पादनको पाँच प्रतिशत मात्र आन्तरिक खपत हुने र बाँकी ९५ प्रतिशत विदेश निर्यात हुने महासङ्घले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट रु सात अर्ब ६७ करोड बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : ५३ बजे