Logo

प्रदेश

सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ



सुनसरी । सुनसरीको कोसी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार, भारतबाट नेपाल प्रवेश गर्दै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिकाको वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले उनीहरूलाई साउन २० गते राति नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमारको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको छ। बरामद नोटसहित मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : १८ बजे