काठमाडौं । नेपाली फिटनेस उद्योगमा पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी ‘नेपाल फिटनेस एक्स्पो २०८२’ मा ७० लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले बताएका छन्। भदौ १४ गते काठमाडौंको मल्ल होटेलमा हुने यो एक्स्पोले देशको फिटनेस तथा स्वास्थ्य उद्योगमा आर्थिक चहलपहल ल्याउने विश्वास गरिएको छ।
‘क्लासिक फिटनेस एकेडेमी’को आयोजनामा र ‘रिगल इभेन्ट’को व्यवस्थापनमा हुने एक्स्पोमा करिब ३ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य केवल ब्रान्ड प्रचार मात्र नभइ नेपाली फिटनेस उद्योगलाई व्यवस्थित र अन्तर्राष्ट्रिय बजारसँग जोड्नु पनि हो।
एक्स्पोमा भारत, मलेसिया लगायत देशका चर्चित फिटनेस इन्फ्लुएन्सरहरूको उपस्थिति रहनेछ। यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट फिटनेस उपकरण, पोषण परामर्श, परिधान, हेल्थटेक सेवा तथा उत्पादन प्रदर्शनी गरिनेछ।
कार्यक्रममा ‘राइजिङ एथलेटिक’, ‘बेष्ट एथलेटिक’, ‘बेष्ट कोच’ र ‘लाइफटाइम एचिभमेन्ट’ विधामा अवार्ड वितरण गरिनेछ। साथै, सेमिनार, योगा, डेमो ट्रेनिङ, फेसन शो, ‘मिट एन्ड ग्रिट’ लगायतका व्यावसायिक तथा जनचासोका गतिविधिहरू पनि समावेश गरिनेछन्।
एकेडेमीका संस्थापक रोजन शाहीका अनुसार एक्स्पोमा गरिएको लगानीको मुख्य उद्देश्य दीर्घकालीन आर्थिक र सञ्जाल विस्तार हो। “यो एक्स्पो स्वास्थ्य, फिटनेस, जिम, सप्लिमेन्ट व्यापार, प्रशिक्षण र परामर्श क्षेत्रमा काम गर्न चाहनेहरूका लागि प्लेटफर्म हो,” उनले बताए।
कार्यक्रमका प्रमोटर सन्तोष श्रेष्ठले “यो प्रोग्राम हाम्रो मात्रै होइन, सम्पूर्ण नेपाली फिटनेस समुदायको हो,” भने। एक्स्पोको ब्रान्ड एम्बेस्डरको रूपमा बडिबिल्डर रजनी श्रेष्ठ रहनेछिन्।
नेपाली फिटनेस क्षेत्रमा नयाँ लगानी, रोजगारीको अवसर तथा स्टार्टअपहरूलाई प्रेरणा दिने अपेक्षासहित सुरु गरिएको यो एक्स्पोले देशको स्वास्थ्य तथा फिटनेस बजारमा आर्थिक गति दिने विश्वास गरिएको छ।
प्रतिक्रिया