Logo

प्रदेश

धनुषामा प्रहरी र तस्करबीच झडप, सात सशस्त्र प्रहरी घाइते



धनुषा । धनुषाको विदेह नगरपालिका–२ स्थित वैदेही क्षेत्रमा बिहीबार साँझ सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। झडपमा परी सातजना सशस्त्र प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वजरुणबहादुर सिंहका अनुसार नेपाल–भारत सीमानजिक दुहबी क्षेत्रमा साँझ ७ बजे झडप भएको हो। “सात जना सशस्त्र प्रहरी घाइते भएका छन्, उनीहरूको अवस्था सामान्य छ,” डिएसपी सिंहले बताए।

घटनामा नियन्त्रण कायम गर्न प्रहरीले चार राउन्ड गोली र १३ सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ। सिंहका अनुसार सीमा क्षेत्रका केही घरमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले खानतलासी गर्दा तस्कर समूहले आक्रमण गरेको हो।

झडपपछि तस्कर समूहका कुनै पनि व्यक्ति प्रहरी नियन्त्रणमा आउन सकेका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : १५ बजे