Logo

Breaking News 1

भक्तपुरको ‘जुजु धौ’ : परम्परागत विधि, रसिलो स्वाद



काठमाडौं । आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।

असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।

तर आज मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भक्तपुरको जुजु धौको माग बढेको छ । अहिले भक्तपुरका जुजु धौ व्यवसायी व्यस्त देखिएका छन् । दूध उमाल्न र जुजु धौ बनाउनमै उनीहरुको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ ।
असार १५, धान दिवस रोपाईंको उत्सव मात्रै होइन, दही–चिउरा खाएर सांस्कृतिक परम्परा जोगाउने यस दिनको विशेष आकर्षण भने भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ – विशेष स्वाद र परम्पराले भरिएको राजसी दही हो, जसको व्यापार यतिबेला उकालो लागेको छ ।

नेपाल न्यूज बैंकले गरेको संक्षिप्त रिर्पोटिङमा तीन दशकदेखि जुजु धौ बनाउँदै आएकी शंखमाया भक्तपुरको एक पुरानो गल्लीमा भेटिन्छिन् । जुजु धौ बनाउने एक सानो तर व्यस्त घर । यही ठाउँबाट ३०–४० वर्षदेखि शंखमाया आफ्नो परिवारसँगै जुजु धौ बनाउँदै आएकी छिन् । उनी भन्छिन्, ‘यो हाम्रो सबैभन्दा पूरानो जुजु धौ हो भक्तपुरको । अहिले काम गर्ने मान्छे भएकाले केही सहज भएको छ । तर सुरुवातमा एक्लै गर्दा धेरै गाह्रो थियो ।’

उनका अनुसार ‘जुजु धौ’ साना माटोका भाडादेखि ठूला भाँडासम्म तयार गरिन्छन् , जसको मूल्य २६० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । ‘ठूलो भन्दा पनि सानो सानो ‘जुजु धौ’ बढी बिक्री हुन्छ,’ उनले थपिन्, ‘दुध धेरै लाग्छ, तर जमाउन ३–४ घण्टामै तयार हुन्छ ।’

शंखमायाको जुजु धौ काठमाडौं उपत्यकाभर डेलिभरी हुन्छ र अन्य व्यापारीहरू पनि यहींबाट लिएर जान्छन् । यसैबीच विक्रम मानन्धर, जो पछिल्लो दुई–तीन वर्षदेखि यही पेशामा संलग्न छन् । भन्छन्, ‘हामी कुनैपनि केमिकल प्रयोग गर्दैनौं । हाम्रो दहीमा आफ्नै बिउँ हुन्छ, जुन स्वास्थ्यका लागि सुरक्षित छ । उनी भन्छन्, ‘दही जमाउन दूधको मात्रासँगै चिनी पनि निकै महत्त्वपूर्ण हुन्छ । चिनी बढी–घटी भयो भने दही बिग्रन्छ ।’

उनीहरू ५०० देखि ८०० लिटर दूधको दही बनाउँछन् । उनको अनुभवमा असार र विवाह–व्रतबन्धको बेला जुजु धौ को व्यापार सबभन्दा बढी हुने गर्छ । साथै जुजु धौ नेपालीलाई मात्रै नभइ विदेशीहरुलाई समेत मनपर्ने गरेको उनी बताउँछन् । ‘नेपालीहरु मात्रै नभइ विदेशीहरु पनि आउनु हुन्छ जुजु धौ खान । उनले भने, ‘विदेशीहरुलाई समेत हाम्रो जुजु धौं मनपर्छ र तारिफ गरेर जानुहुन्छ ।’

यसैगरी धर्म नयाँजू, आइतबार बिहान जुजु धौ किन्न भक्तपुर पुगेका थिए । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छन्, ‘असार १५ मा दही चिउरा खाने चलन हामी नेपालीको पहिचान हो । परम्परा जोगाउँदै रमाइलो गर्ने दिन हो यो ।’ रोपाईं गरेर फर्किएपछि भक्तपुरको जुजु धौ खाएर मनाउने चलन निकै पुरानो हो । अझै पनि उत्तिकै लोकप्रिय छ ।

धान दिवसको अवसरमा खेतमा पसिना बगाउने किसानदेखि जुजु धौ बनाउने हातसम्म, सबैको भूमिका महत्वपूर्ण छ । भक्तपुरको जुजु धौ– स्वाद, परम्परा र मेहनतको साङ्लोले यो दिनलाई अझ विशेष बनाएको छ । हरेक असार १५ मा दही चिउरा खानु भनेको स्वाद मात्र नभई नेपालीपनलाई मनाउने एउटा मधुर अवसर पनि हो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : २९ बजे