Logo

Breaking News 1

मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा



रौतहट । मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नगरप्रमुखको नेतृत्वमा आएको बजेटले अब मौलापुरमा कुनै पनि कर लाग्ने छैन। विद्युत् र खानेपानी पनि नगरवासीले निःशुल्क पाउने व्यवस्था मिलाइनेछ । नगरमा सुरक्षाका लागि प्रहरीको सट्टामा ‘नगरमास्टर’ राखिनेछ भने स्वास्थ्य सेवा सहज बनाउन ‘नगरडाक्टर’ आउने छन् ।

‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ । दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ बनाइने भएको छ। यसले उनीहरूको आवास समस्या समाधान गर्ने विश्वास नगरले लिएको छ ।

शिक्षा क्षेत्रमा निःशुल्क र गुणस्तरीय पढाइको व्यवस्था हुनेछ। साथै, स्थानीयलाई सहज उपचार सेवा दिन ‘मोडेल अस्पताल’ बनाइनेछ । कृषकहरूलाई सहयोग गर्न कृषि विकास कार्यक्रम र पशु अस्पताल खोलिने नगरपालिकाले जनाएको छ ।

अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति थियो । सबैले योजना व्यवहारिक र जनमुखी भएको प्रतिक्रिया दिएका छन्। नगरले आवश्यक बजेटको व्यवस्था गरिसकेको र छिट्टै कार्यान्वयन सुरु हुने जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ५२ बजे