विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रामअवतार यादवमाथि १३ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। आरोप सार्वजनिक भएपछि उनलाई सीआरभी युनिटको नेतृत्वबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ।
घटना अनुसार सुनसरीको देवानगन्ज गाउँपालिका–७ निवासी इन्द्रदेव यादवसँग घुस लिएको आरोप लागेको हो। इन्द्रदेव आफ्नो आफन्तलाई दिएको सापटी रकमवापतको एक लाख ७५ हजार रुपैयाँ लिएर विराटनगर–१८, भेडियारीबाट घर फर्कने क्रममा प्रहरीको सीआरभी युनिटद्वारा चेकजाँचमा परेका थिए। त्यही क्रममा रकमसहित नियन्त्रणमा लिइएपछि असई यादवले डर देखाएर १३ हजार रुपैयाँ घुस लिएको इन्द्रदेवले आरोप लगाएका छन्।
इन्द्रदेवका अनुसार शनिबार राति ८:३० बजे उनलाई सीआरभी गाडीमा राखेर नहरतिर लगिएको थियो। करिब दुई घण्टा नियन्त्रणमा राखी ‘यति धेरै नगद लिएर हिँडेको’ भन्दै मुद्दा चलाउने डर देखाएर घुस मागिएको दाबी गरिएको छ।
घटना सार्वजनिक भएपछि असई यादवलाई सोमबार सीआरभी युनिटको नेतृत्वबाट हटाइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको प्रहरीले जनाएको छ। आरोपमा दाबी गरिएको १३ हजार रुपैयाँ भने हालसम्म बरामद नभएको मोरङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी कोपिला चुँडालको नेतृत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान थालेको छ। एसपी नारायणप्रसाद चिमरियाले प्रारम्भिक सूचना आधारमा छानबिन भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया