बर्दिया । कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ साल देखि २०७० साल सम्म १४ वर्ष बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल अहिले व्यवस्थापन नहुँदा ११ वर्षदेखि अलपत्र परेको छ । बर्दियाको गेरुवा कर्णाली नदीको कोठियाघाटमा २०७० सालमा पक्कीपुल सञ्चालनमा आएपछि पानीमा तैरिने पुल अलपत्र परेको हो ।
कार्तिक महिनादेखि जेठ महिनासम्म साना–ठूला यात्रुबाहक र मालबाहक सवारी साधन आवतजावत गर्न प्रयोग गरिएको थियो । पानीमाथि तैरिएर रहने भएपनि पुल २० टनसम्म भारबाहन क्षमता रहेको थियो । वर्षादमा भने बाढीको जोखिम भएकाले स्टिम्बरको सहायताले जोखिमपूर्ण यात्रा गर्न राजापुरबासी बाध्य थिए । तर पुल भएकै कारण कार्तिकदेखि गेरुवा नदीमा पानीको सतह नबढ्दासम्म राजापुरबासीले सहजै यात्रा गर्न पाउँथे । खाद्यन्नको भण्डार भनेर चिनिने राजापुरमा पुल सञ्चालन भएपनि मात्र खाद्यन्न बाहिरिने गर्दथ्यो ।
कुनै समयमा राजापुरको बरदान भएको पुल जिर्ण बन्दै गएको हेर्न बाध्य भएको राजापुर नगरपालिका–६ का चन्द्रश्वर सुवेदीले बताए । राज्यले गरेको वेवास्ताका कारणले पुल अहिले जिर्ण बन्दै गएको उनले बताए । राजापुर जस्तै पुल नबन्दा दुःख पाएको स्थानमा पुललाई लगेर सदुपयोग गर्नुपर्ने राजापुर नगरपालिका वडा नं ६ मानपुरकी शिवा थारुले बताइन् । ‘देशभरी कुनै स्थान त होला जहाँ पुल नहुँदा दुःख भोग्नु परेको स्थान त्यो स्थानमा नै पुल लगेर प्रयोग गर्नुपर्यो,’ उनको भनाइ छ ।
एसियाली विकास बैंकको ६ करोड ९३ लाख १८ हजार रुपैंयाँ ऋण सहयोगमा चिनियाँ प्रविधिमा निर्मित पन्टुन पुल सञ्चालनमा रहेको थियो । पुलमा ३३ ड्रम भएपनी ३ वटा ड्रम बाढीमा बगेर हाल ३० ड्रम बाँकी रहेका छन् । राजापुर सिंचाई आयोजनाले सिचाईको कामकै शिलशिलामा जडान गरेको पुल सुरुमा राजापुर सिंचाई आयोजना, स्थानिय जल उपभोक्ता समिति र जिल्ला विकास समितिले संयुक्त रुपमा सञ्चालन गर्दै आएका थिए ।
पुल सञ्चालन ठेक्का लगाई जिल्ला विकास समितिले आम्दानी समेत गरेको थियो । पुलको रेखदेखको काम राजापुर सिचाई आयोजनाले कर्मचारी खटाएर गरेपनि मर्मत संहारको काम भने कुनैपनि निकायले गरेको पाईदैन । पुल सञ्चालन हुँदासम्म पुलको नियमित रेखदेख गरिन्थ्यो । पुलको मर्मत संहार र पेन्टिङ्ग गरिन्थ्यो तर पुल बन्द भएपछि जिर्ण हुनेक्रम बढ्दै गएको छ । पुलका ड्रमहरू खियाले गर्दा प्वाल पर्न थालेका छन् । हाल पुललाई कोठियाघाट नदी किनारमा राखिएको छ ।
राजापुर सिंचाई आयोजनाले पुलको मर्मत संहार र पेन्टिङ्ग नगरिएपनि पुल भने कर्मचारी खटाएर सुरक्षीत राखिएको जनाएको छ । राजापुर सिचाइ आयोजनाका आयोजना प्रमुख रामकृष्ण घोडासैनीले पन्टुनपुल टाउको दुखाई भएको बताए ।
पुलको व्यवस्थापन वा लिलामी प्रक्रियाका लागि विभागमा पटक पटक पत्र पठाउँदा समेत सुनुवाई नभएको उनले बताए ।
रेखदेख गर्न दुईजना कर्मचारी खटाएर राखिएको बताउँदै उनले बजेट अभावमा अनावश्यक रुपमा कर्मचारी खटाउनु परेको बताए ।
प्रतिक्रिया