काठमाडौं । नेकपा एमालेले अनेरास्ववियु (अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन) मा ३२ वर्षे उमेर सीमा लागू गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
निर्णयअनुसार सचिवभन्दा माथिका सबै पदाधिकारीहरू उमेर हदमाथि पुगेकाले आगामी महाधिवेशनपछि स्वतः बाहिरिने छन्। यस निर्णयका कारण उपाध्यक्ष धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती, गोविन्द गिरी तथा महासचिव नरेश रोकाया संगठनको नेतृत्वबाट बाहिरिने भएका छन्।
त्यस्तै, सचिव मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हद पार गरिसकेकाले पदमा रहने छैनन्। ३२ वर्ष उमेर नकटेका सचिवहरू दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटी भने नेतृत्वको दाबी गर्न सक्ने छन्।
एमालेले यही ३२ वर्षे उमेर सीमा यही जेठ २५–२८ गते कीर्तिपुरमा हुने अनेरास्ववियुको महाधिवेशनबाट लागू गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनपछि लागू गर्न सुझाव दिएका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट निर्णय कार्यान्वयन गर्ने अडान राख्दै निर्णय गराएका थिए।
प्रतिक्रिया