काठमाडौं । भारतीय सेनाले ८ र ९ मेको मध्यरातमा पाकिस्तानले भारतको सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियार प्रयोग गरी व्यापक सैन्य आक्रमण गरेको आरोप लगाएको छ। भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (ADG PI) ले सामाजिक सञ्जाल X मार्फत भिडियो सार्वजनिक गर्दै उक्त आक्रमणबारे जानकारी दिएको हो।
भारतीय सेनाका अनुसार पाकिस्तानी सेनाले जम्मू–कश्मीरको नियन्त्रण रेखा (LoC) मा पटक–पटक युद्धविराम उल्लंघन गर्दै आक्रमण गरेको हो। सेनाले ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारेको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको जनाएको छ।
बीबीसीका श्रीनगरस्थित संवाददाता मजिद जहाँगीरका अनुसार, बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलाबारी भएको थियो, जसमा सीमावर्ती मानव बस्तीहरूलाई समेत लक्षित गरिएको थियो। राजौरीबाट बीबीसी संवाददाता दिव्या आर्यका अनुसार, आक्रमणका क्रममा त्यहाँ पूर्ण रूपमा विद्युत् आपूर्ति बन्द गरिएको ‘ब्ल्याकआउट’ अवस्था थियो।
उक्त घटनापछि BBC हिन्दीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग सम्पर्क गरेको थियो। आसिफले पाकिस्तानले कुनै पनि आक्रमण नगरेको दाबी गर्दै जम्मू–कश्मीरमा भएको हिंसात्मक घटनाको जिम्मेवारी अस्वीकार गरेका थिए।
(स्रोत: BBC हिन्दी)
प्रतिक्रिया